आइतबार, वैशाख १४, २०८२

खोटाङमा जनयुद्धमा मारिएका माओवादी नेताका सम्झनामा सहिद स्तम्भ

नेपालखोज २०७८ फागुन २४ गते १४:५६

काठमाडौं । खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा सहिद स्तम्भ पार्क (उद्यान) निर्माण गरिएको छ । दसवर्षे माओवादी जनयुद्धको विभिन्न समय तथा स्थानमा राज्यपक्षबाट मारिएका खोटाङका ७३ शहीदको सम्झनामा पर्यटकीयस्थल तावाभञ्ज्याङमा सहिद स्तम्भ पार्क निर्माण गरिएको हो ।

पार्कमा खोटाङका प्रथम सहिद ठूलकुमार श्रेष्ठदेखि कर्मचारी आन्दोलनमा नेपाल प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका सहिद मनोज जोशीको नामसमेत समावेश गरिएको छ । नेकपा माओवादीको जिल्ला समिति सदस्य श्रेष्ठलाई तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरी विसं २०५५ पुस २७ गते उदयपुरको तावाश्रीमा लगेर गोली हानी हत्या गरेको थियो ।

शहीद जोशीलाई विसं २०४८ साउन १५ गते नेपाल प्रहरीले गोली हानेर हत्या गरेको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारसँग भएको सम्झौता पूरा नभएको विरोधमा कर्मचारीले निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी जोशीलाई दिक्तेलस्थित हेलिप्याडमा प्रहरीले हानेको गोली लागेर उनको मृत्यु भएको थियो ।

देश र जनताका लागि आफ्नो ज्यान आहुति दिने शहीदहरुको सम्मान र पर्यटकीयस्थल तावाभञ्ज्याङको प्रवद्र्धन गर्न पार्क निर्माण गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए । तावाभञ्ज्याङमा निर्माण गरिएको शहीद पार्कलाई बाह्रै महिना हराभरा बनाएर पर्यटकलाई आकर्षित गर्न पार्क वरिपरि व्यावसायिक रुपमा चिया बगानसमेत बनाइएको छ । सहिद पार्क निर्माणस्थलको दायाँबायाँ करीब १० रोपनी जग्गामा गत वर्ष गाउँपालिकाको लगानीमा आठ हजार चियाका बिरुवा लगाइएको गाउँपालिका कृषि शाखाप्रमुख गणेश राईले बताए ।

माघे सङ्क्रान्ति, नयाँ वर्ष, वैशाखे पूर्णिमालगायतमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने तावाभञ्ज्याङमा होमस्टे (घरबास) समेत निर्माण गर्ने तयारी गरिएको छ । होमस्टे निर्माण तथा सञ्चालनका लागि यस वर्ष बजेटसमेत विनियोजन गरिएको गाउँपालिकाका प्रमुख झङ्कारले जानकारी दिए ।

प्रतिक्रिया