‘महिलाले ३३ मात्रै होइन ५० प्रतिशत अधिकार पाउनु पर्छ’

नेपालखोज २०७८ फागुन २४ गते १८:३७

काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरुले ३३ प्रतिशत मात्रै अधिकार नभएर ५० प्रतिशत अधिकार पाउनु पर्ने बताएकी छन् ।

आज ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमाले निकट अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै शाक्यले अब महिलालाई ३३ प्रतिशत मात्रै अधिकार नभएर पुरुषसरह ५० प्रतिशत अधिकार पाउनु पर्ने बताएकी हुन् ।

उनले नेपालको कूल जनसख्याको आधाभन्दा बढी महिला भएकाले पनि पुरुष सरह ५० प्रतिशत समान अधिकारको अवधारणा बनाउनु पर्ने बताइन् । उपाध्यक्ष शाक्यले महिलाहरु इमान्दार, जवाफदेही, पारदर्शी कुशल भएकाले अबको स्थानीय तहदेखि मुलुक हाक्ने तहसम्म महिलाहरुले आफुलाई सक्षम बनाउनु पर्ने जिकिर गरिन् । उनले महिला÷पुरुष समान रहेकाले महिलालाई हिंसा, विभेद, असमान्ता र दुरव्यवहार गर्ने सम्पूर्ण कुराहरु समाप्त गर्दै महिलाहरुलाई हेर्ने दृष्टिकोण फरक बनाउन जरुरी रहेको उल्लेख गरिन् ।

त्यस्तै नेकपा एमालेकी स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री थममाया थापाले संविधानमा गरिएको किटानी व्यवस्था अनुसार समाजवादको आधार तयार पार्नको लागि महिलाहरु निर्णायक ठाउँमा पुग्नु पर्ने बताएकी छन् । उनले महिलाहरु पुरुष सरह नेतृत्व तहमा सहभागिता नभएसम्म महिलाका अधिकारहरु प्राप्त हुननसक्ने तर्क समेत गरिन् ।

स्थायी कमिटी सदस्य थापाले स्थानीय तहको सरकारको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरिन् । उनले नेतृत्वमा महिला पुगे मात्रै आर्थिक, सामाजिक तथा राजनीतिक हिसाबले महिलाको सहभागिता बढ्ने उल्लेख गरिन् ।

प्रतिक्रिया