‘महिलाहरुलाई प्रतिनिधि सभामा सिट आरक्षण गरिनु पर्छ’

नेपालखोज २०७८ फागुन २४ गते १८:५८

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले महिलाहरुलाई प्रतिनिधि सभामा सिट आरक्षण गरिनुपर्ने बताएकी छन् । आज ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘महिलाको राजनीतिक सहभागिता : चुनौती र अगाडीको बाटो’ विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री यादवले महिलाहरुको राजनीतिक सहभागिता वृद्धि गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा आरक्षण सिटको व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।

उनले महिलाहरुले राजनीतिमा गरेको योगदानको उचित मुल्यांकन हुनुपर्ने पनि बताएकी छन् । मन्त्री यादवले महिलाहरुलाई राजनीतिक प्रतिस्पर्धामा ल्याउन नसके उनीहरुको क्षमता अभिवृद्धि हुन नसक्ने बताइन् ।

त्यस्तै, नेकपा (एमाले) की स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले पछिल्लो पुस्ताका महिलाहरु राजनीतिकरुपमा नेतृत्व लिन सक्षम र योग्य भएको बताइन् । धेरै महिलाहरु स्थानीय तहको प्रमुख चलाउन योग्य भएको भएपनि जसले प्रमुख दाबी गर्छ उसलाई किनारा लगाउने सम्भावना हुने गरेको उनले बताइन् । चुनावमा टिकट दिने ठाउँमा पनि महिला हुनुपर्नेमा उनले जोड दिइन् ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले महिलाहरु चुनाव लडेर नेतृत्व लिन तयार रहेको बताएकी छन् । चुनावमा महिलालाई आउन नदिने पुरुष मानसिकता पार्टीभित्र र बाहिर हुने गरेकाले त्यस्तो मानसिकता हटाउनुपर्ने उनले बताइन् । निर्वाचन पद्धति खर्चिलो भएको उल्लेख गर्दै उनले निर्वाचन पद्धति पनि पारदर्शी बनाउनुपर्ने धारणा राखिन् ।

नेपाली कांग्रेसकी केन्दीय सदस्य डा. आरजु राणाले राजनीतिमा योगदान गरेका महिलाहरुलाई अगाडी बढाउन राजनीतिक दलले ध्यान दिनुपर्ने बताएकी छन् । अग्रजहरुसँग सम्पर्कमा रहने र सम्मान गर्नुपर्ने पनि उनले बताइन् । केन्द्रीय सदस्य राणाले आफ्नो सन्तानलाई महिलालाई सम्मान गर्न सिकाउनुपर्ने बताइन् । उनले महिलाहरु आफ्नो अधिकार प्राप्तिको निम्तिसचेत हुनुपर्ने बताइन् ।

प्रतिक्रिया