मंगलबार, वैशाख २५, २०८१

सरकारको अनुमति कुर्दै रेल्वे कम्पनी, महाप्रबन्धक झा भन्छन्- तयारी अवस्थामा छौं

नेपालखोज २०७८ फागुन २५ गते १७:२७

काठमाडौं । जयनगर कुर्था रेल्वे सेवा सरकारले चाहे तत्काल सञ्चालन गर्ने सक्ने नेपाल रेल्वे कम्पनीले बताएको छ । जयनगर कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परिक्षण भइसकेको छ । यात्रु आवागमनको लागि भने रेल सञ्चालनमा आएको छैन ।

तर, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झाले रेल्वे सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएकाले सरकारले चाहे तत्काल रेल सञ्चालन गर्न सक्ने बताए । आज न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दैै महाप्रबन्धक झाले यस्तो बताएको हो । उनले रेल्वे सेवा सञ्चालन गर्ने विषयमा सरकार सकारात्मक रहेको जानकारी दिए ।

महाप्रबन्धक झाले रेल्वे कम्पनीले रेल सञ्चालनको लागि भाडा निर्धारण तथा कानून समेत बनाइ सकिएको बताए । उनले भने, ‘रेल परिक्षण गरेर सम्पूर्ण तयारी पूरा गरेका छौं । सरकारले चाहेका बखतमा हामीले रेल चलाउन सक्छौं । सरकार पनि रेल सञ्चालन गर्ने विषयमा सकारात्मक छ । मन्त्रालय पनि यो विषयमा सकारात्मक छ । रेल विभागले पनि नजिकबाट सहयोग गरिरहेको छ । रेल सञ्चालनको लागि नेपाल सरकारले विगत देखि निरन्तर रुपमा सहयोग गर्दै आएको छ । पछिल्लो समय केही प्राविधिक समस्या भए पनि सरकारले चाहेको खण्डमा रेल सञ्चालन गर्न सक्छौं । रेल सञ्चालन कहिले हुन्छ भनेर नागरिक उत्साहित छन । जसरी यात्रु रेल चढ्न उत्साहित हुनुहुन्छ । त्यो अनुसारले रेल सञ्चालनमा आउँदा घाटामा विल्कुल जाँदैनौं ।’

रेल्वे सेवा अहिले सञ्चालनमा आउँछ भनेर उत्साहित रहेको भन्दै उनले रेल्वे चल्न सुरु भएसँगै यात्रुलाई यातायातमा सहज बनाउन महत्वपूर्ण भुमिका खेल्ने दाबी गरे । महाप्रबन्धक झाले कम्पनी नयाँ भएकाले कम्पनी स्थापित गराउनको लागि सरकारले सहयोग गर्नु पर्ने बताए । रेल दुई वर्षअघि भारतीय रेल्वे कम्पनी कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरिद गरेर नेपाल ल्याएको एक वर्ष बढी भएको छ ।

रेल खरीद गरेर एक वर्षपछि कुर्थासम्म ल्याएको रेलको गत पुसमा परीक्षण गरेर राखिएको छ । अहिले पनि रेल जनकपुरमै त्रिपालमुनी थन्किएर बसेको छ । रेल सेवा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भएपनि अहिलेसम्म उद्घाटनको मिति जुरेको छैन ।

भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ । रेल खरिद गरेर ल्याएको लामो समयसम्म रेल सञ्चालमा आउन नसक्दा आम नागरिकको चासो रहेको छ । बहुप्रतिक्षित देशको एक मात्र रेलमा चाँडै यात्रा गर्न आम नागरिक प्रतिक्षामा बसिरहेका छन् ।

प्रतिक्रिया