शनिबार, जेठ ५, २०८१

कवाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु

नेपालखोज २०८० मंसिर २१ गते १४:३५

मोरङ । बिराटनगर महानगरपालिका–७ सात घुम्तिस्थित कवाडी पसलमा बुधबार दिउँसो आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने ४० वर्षीय दिपक मण्डल, सोही महानगरपालिका–६ बस्ने ६५ वर्षीया सुनिता कामत र ५५ वर्षीया सुशिला पासवान रहेका छन् ।

आगलागीमा परी सुशिला पासवानको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते भएका दिपक मण्डलको न्यूरो अस्पताल र सुनिताको बर्न अस्पताल कीर्तिपुरमा उपचारको क्रममा मृत्यु भएको हो । आगोले जलेर घाइते भएका अन्य ३ जनाको बर्न अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ ।

उक्त आगलागीबाट अन्जुला कवाडी र रिया ट्रेडर्सको कवाडीको सामान जलेर करिब २५ लाख रूपैयाँ तथा सोही ठाउँस्थित नरेश राठी र महेश राठीको घरकोठामा रहेको एसी मेसिन १० थान, झ्यालको पल्ला, ट्वाईलेटको सरसामान जलेर करिब १५ लाख रूपैयाँ गरी जम्मा करिब ४० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथ यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया