शनिबार, जेठ ५, २०८१

निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा शुक्रबारदेखि

नेपालखोज २०७८ फागुन २५ गते १८:२०

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा तथा १२औं अधिवेशन यही फागुन २७, २८ र २९ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । साधारणसभा तथा अधिवेशन कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन हुने महासंघले बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

साधारणसभा तथा अधिवेशनमा करिब १२ सय प्रतिनिधि र १२ सय पर्यवेक्षकको सहभागिता रहने महासंघले जनाएको छ । साधारणसभाकै उद्घाटन सत्रमा प्रधामन्त्री देउवाले महासंघको मुखपत्र निर्माण विशेषांकको विमोचन गर्ने कार्यक्रम छ ।

अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा नयाँ कार्यसमिति चयन गर्नेछ । महासंघको ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएट सहित ८ उपाध्यक्ष, महासचिव (१) उप महासचिव (२), कोषाध्यक्ष, सह कोषाध्यक्ष सहित ४६ पदमा निर्वाचन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । साधारणसभामा महासचिव एवम् कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिनुका साथै सार्वजनिक हुने क्रममा रहेको सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधन र व्यवसायीहरूका अन्य मागहरुका विषयमा व्यापक छलफल भई काठमाडौं घोषणापत्र जारी गरिनेछ ।

अधिवेशन स्थल बाहिर निर्माण उद्योग सम्बन्धी विभिन्न संस्था एवं कम्पनीका ३० वटा स्टल रहनेछन् । साधारणसभा तथा अधिवेशन कार्यक्रमरूपमा सम्पन्न गर्न महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मूल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन् । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको एघारौ संशोधनले निर्माण उद्योगमा देखिएका धेरै समस्या समाधान गर्ने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले समस्याग्रस्त रहेको निर्माण उद्योग सुधारका लागि एघारौं संशोधन आवश्यक रहेको बताए । एसोसिएट उपाध्यक्ष आङ दोर्जी लामा (एडी) ले एघारौं संशोधन तत्काल सार्वजनिक हुनुपर्ने धारणा राखे । यसैबीच अन्तर्राष्ट्रियस्तरमा भइरहेको इन्धनको भारी मूल्यवृद्धि सँगै निर्माण सामाग्रीमा भइरहेको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरू थप मारमा परेका महासंघका महासचिव रोशन दाहालले बताए ।

महासंघका नीतिगत उपमहासचिव तथा प्रवक्ता टंकप्रसाद चौलागाईले निर्माण उद्योगका समस्या समाधान गर्ने २३ औं साधारणसभा तथा १२ औं अधिवशेन सफल हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया