काभ्रेमा ‘एक घर, एक धारा’ वितरण

काठमाडौं । काभ्रेको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–६ का घ्याब्रिङ र बालखोपका बासिन्दालाई धारा वितरण गरिएको छ । वाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को प्रदेश विशेष अनुदान र गाउँपालिकाको साझेदारी बजेटबाट ५३ घर परिवार र एक विद्यालयलाई ‘एक घर, एक धारा’ खानेपानी वितरण गरीएपछि ३८० बासिन्दाले खानेपानी उपभोग गर्न पाएका छन् ।
वडाअध्यक्ष रमेश लुङ्गेलीले खानेपानीको समस्या झेल्दै आएकोे ठाउँका लागि प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा खानेपानीको व्यवस्था गरिदिएपछि स्थानीयवासीमा थप खुसीको लहर छाएको बताए । विगतमा सामूहिक धारा हुँदा एकैपटक धेरैजना पानी थाप्नका लागि जम्मा हुँदा विवाद झेल्नुपर्ने अवस्था रहेकोमा अब ‘एक घर, एक धारा’ ले त्यसको अन्त्य भएको उनले बताए ।
करिब साढे तीन किलोमिटर टाढाको बालखोप मुहानबाट मूल पाइप बिछ्याएर तीन ठाउँमा पानी ट्यांकी निर्माण गरी घर-घरमा खानेपानी पुर्याइएको गाउँपालिकाका सब–इन्जिनियर प्रकाश खड्काले बताए । आयोजना सम्पन्न गर्नका लागि ४६ लाख ५० हजार ५०० रुपैयाँको लागतमा मुख्य पाइपलाइन र वितरण पाइप लाइन गरी करिब ११ किलोमिटर पाइपलाइन बिछ्याएर खानेपानी धारा वितरण गरिएको उनले बताए ।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले मानिसको जीवनसँग सम्बन्धित रहेको खानेपानी आयोजना सम्पन्न गर्न प्राप्त बजेटले बालखोपका स्थानीयवासीलाई लाभान्वित बनाउन सफल भएको बताए । वाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनिराम शर्माले दुर्गम गाउँपालिकाको विकट गाउँका बासिन्दालाई प्रदेश सरकारको साझेदारीमा खानेपानी उपलब्ध गराउन सफल भएको बताए । -रासस
प्रतिक्रिया