बिहीबार, वैशाख २०, २०८१

दुर्घटना अपडेट : १० मृतक र पाँच घाइतेको पहिचान खुल्यो

नेपालखोज २०७८ फागुन २६ गते १३:०४

काठमाडौं । संखुवासभाको मादी नगरपालिका ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमकोे अ‍ैंशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी– ६ की अञ्जना कटुवाल र मादी– ५ की दीक्षा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । बिहीबार आज बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो ।

बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । बस दुर्घटनामा परेका पाँच जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की रहेका छन् । दुर्घटनामा घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी प्रमुख सुवेदीले बताए । –रासस

प्रतिक्रिया