मृत्युपछि मृगौला दान गर्न स्वास्थ्य मन्त्रीकाे आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चातको अंगदान गर्न आग्रह गरेका छन् । विश्व मृगौला दिवसको अवसरमा आज विभिन्न संघसंस्थाले संयुक्तरुपमा आयोजना गरेको प्रभातफेरीलगायतका कार्यक्रममा भाग लिँदै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गरेका हुन् ।
मृत्यु पश्चातको अंगदान गरेमा मृगौला पीडितले पनि धेरै सुविधा पाउने उनले बताए । मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न पाउने समूह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समूहलाई ठूलो बनाएको बताए ।मन्त्री खतिवडाले मृगौला प्रत्यारोपण गरेका व्यक्ति पनि मृगौला नफेरेका व्यक्ति जस्तै स्वस्थ हुनसक्ने भन्दै आत्तिनु नहुने बताए ।
नाता पर्नेजति सबैले मृगौला दान गर्न सक्ने उनले स्पष्ट पारे । उनले भने, ‘मृगौला पीडितले आफुलाई मृगौला दिने, म्याच गर्ने मान्छेको खोजी गर्न नसक्नाले पनि केही मान्छे उपचारबाट वञ्चित भएको देखिएको छ । पहिला कानुन साँघुरो थियो, फेरी यसलाई दुरुपयोग पनि भएको हुनाले हामीले कानुन बनाउनु परेको हो ।’
मृगौला प्रत्यारोपण गरेका व्यक्तिले चिन्तित भएर आफूलाई कमजोर बनाउनु नहुने उनको भनाइ छ । उनले भने, ‘मृगौला दान गर्दा पनि समस्या हुँदैन । मृगौला फेरेको मान्छे पनि स्वस्थ हुन्छन् । त्यसकारण हामी मनबाट, अनेक हिसाबबाट आत्तिनु पर्दैन । दुईवटा मध्ये हामीले एउटा दान गर्दा पनि हाम्रो शरिरमा त्यति ठुलो समस्या आउँदैन र मृगौला फेरेको मान्छेले पनि आफूलाई मन कमजोर बनाएर म बिरामी छु, मेरो मृगौला फेरेको छ भनेर चिन्तित हुनुपर्दैन ।’
१० मार्चको दिन मनाइने विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
प्रतिक्रिया