आइतबार, वैशाख २३, २०८१

‘रि–युजेबल कन्डम !’

नेपालमा वार्षिक करिब साढे ३ करोड बढी कन्डम खपत हुन्छ । खपतको क्रम १५ प्रतिशतले बढ्दै गएको छ ।

केशव भट्टराई २०७८ फागुन २६ गते २०:३३

काठमाडौं । कन्डम गर्भनिरोधको एक सुरक्षित उपाय हो । यसले गर्भावस्थालाई अन्डकोषमा पुग्नबाट शुक्राणुलाई रोक्छ । कन्डमले यौन संक्रमणहरू एसटीआईलाई रोक्न मद्दत गर्दछ । यसले एचआईभीसहित एक यौन साथीबाट अर्का साथीमा सर्ने यौन रोग एसटीआईबाट पनि बचाउँछ । यसर्थ कन्डम गर्भनिरोधको एकमात्र यस्तो उपाय हो, जसले गर्भावस्था र एसटीआई दुवैैबाट दम्पतीलाई बचाउँछ ।

कन्डमको सही तरिकाले प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ । यदि सही रूपमा प्रयोग भयो भने गर्भावस्था रोक्न पुरुषले प्रयोग गर्ने कन्डम ९८ प्रतिशत सहयोगी हुन्छ । कन्डमहरू धेरै पातलो ल्याटेक्स रबर वा पातलो तथा फरक किसिमको प्लास्टिकबाट बनाइन्छ ।

नेपालमा वार्षिक करिब साढे ३ करोड बढी कन्डम खपत हुन्छ । खपतको क्रम १५ प्रतिशतले बढ्दै गएको छ । आधुनिकतासँगै अब कन्डम ढाकछोप, लज्जा र कुतूहलको विषय भएको छैन । यो यौन अवस्थामा प्रवेश गरेका सबैमा परिचित भइसकेको छ । सार्वजनिक बजारमा हाकाहाकी बिक्री–वितरण हुन्छ । किराना पसल, पान पसल, डिपार्टमेन्टल स्टोर, औषधि पसललगायत ठाउँमा कन्डम पाइन्छ ।

बजार तथा औषधि पसलमा आजभोलि विभिन्न किसिमका कन्डमहरू पाइन्छन् । आजभोलि बजारमा आएका केही कन्डमका प्रकार सम्बन्धमा धेरै कमलाई थाहा छ । सबैतिर पाइने सामान्य कन्डम एकपटक मात्रै प्रयोग गरिन्छ ।

तर बजारमा अब यस्ता कन्डम पनि आएका छन्, जसको मूल्य गुणस्तरअनुसार हुन्छ । यस्ता कन्डम बनाउनेमा विश्वमै चीन अगाडि छ । अन्य देशमा पनि उत्पादन नहुने होइन, तर चीनको तुलनामा ती देशमा उत्पादन हुने कन्डम महँगा हुने गर्छन् ।

नेपालमा सरकारले यौन खेलौनाका पसल सञ्चालन गर्न अनुमति दिएको छ । फलस्वरुप, प्रमाणपत्र लिएर सेक्स टोयज बिक्री गर्ने पसलहरू नेपाली मुख्य बजारमा प्रशस्तै पाइएका छन् । यस्तै कन्डमका विभिन्न प्रकारमध्ये पुनः प्रयोग गर्न सकिने कन्डम अर्थात रि–युजएबल कन्डम पनि एक हो । यो साइजअनुसारको पाइन्छ । यसको आकार सामान्य कन्डमको भन्दा निकै नै फरक हुन्छ । यहाँसम्म कि मानिसहरू कन्डम हो÷होइन भनेर झुकिने गर्छन् । यो सामान्य कन्डम आकारकै हुन्छ तर बाहिरी आवारण नरम खालको काँडेदारयुक्त हुन्छ । सामान्यभन्दा निकै नै बाक्लो पनि हुन्छ ।

यसलाई एकपल्ट प्रयोग गरेपछि धेरै तातो पानीले सफा गर्नुहुँदैन । कन्डम किन्दाको समयमा सफा गर्ने पदार्थ पनि ल्याउन सकिन्छ । सामान्यतः हल्का मनतातो पानी र साबुनले सफा गरी सुक्खा भएपछि प्याक गरेर सुरक्षित राख्नुपर्ने व्यापारीहरू बताउँछन् ।

यस्तो कन्डम चाहेका बेला फेरि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले साइड इफेक्ट हुने कतिको सम्भावना हुन्छ भन्ने प्रश्नलाई व्यापारीहरूले सीधै अस्वीकार गर्ने गर्छन् । यस्ता कन्डमको मूल्य नेपाली बजारमा १८ सय रुपैयाँदेखि पाँच हजारसम्म पर्ने गरेको छ । तर १८ सय देखि २५ सय रुपैयाँका बढी बिक्री हुने गर्छ । यस्ता अधिकांश कन्डमहरू नेपालमा चीनबाट आयात गर्ने गरिन्छ ।

प्रतिक्रिया