‘रङको विषयलाई लिएर पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा बहस गर्न मिल्दैन’

नेपालखोज २०७८ फागुन २६ गते १५:१५

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सैद्धान्तिक र वैचारिक वहसमा सहभागी हुन सुझाव दिएका छन् । महामन्त्री शर्माले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङको विषयलाई लिएर पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा वहस गर्न नमिल्ने तर्क गरे ।

आज संचारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले तथ्य र तर्कमा आधारित विषयमा मात्र राजनीतिक दलहरुले निर्वाचन आयोगले गरेको निर्णयमाथि प्रश्न उठाउन सक्ने भएकाले तार्किक कुरामा मात्रै प्रश्न गरी पदीय जिम्मेवारीको मर्यादा राख्न अध्यक्ष ओलीलाई सुझाव दिए । अध्यक्ष ओलीले केही दिनअघि सार्वजनिक समारोहमा मतपत्रमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णय नमान्ने अभिव्यक्ति दिएको विषयमाथी टिप्पणी गर्दै शर्माले रङबाट नतर्सिन पनि आग्रह गरे ।

उनले अध्यक्ष ओलीलाई मतपत्रको रङ भन्दा पनि आफ्नो ढंग सच्याउन सुझाव दिए । महामन्त्री शर्माले निर्वाचन आयोगले मतपत्रमा हरियो रङ राखेर आफ्नो परम्परा र जिम्मेवारी पूरा गरेको भन्दै मतपत्रको रङबाट नडराउन आग्रह गरे ।

उनले आफूले सरकारको नेतृत्व गरेका बेला गरेका आश्वासनहरुको समिक्षा गर्न पनि अध्यक्ष ओलीलाई सुझाव दिएका छन् । अध्यक्ष ओलीले नेपाली कांग्रेसले आफ्नो मत चिह्न हरियो रङको रहेको उल्लेख गर्दै सबैले हरियो रङ देखुन् भन्ने सोचाइबाट मतपत्रमा हरियो रङ राख्ने निर्णय गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया