आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज बसेको बैठकले थानीलाई सरकारले नेपाल आयल निगम लिमिटेडको ३३औं कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
कार्यकारी निर्देशक नियुक्त गर्न गठित सिफारिस समितिले हिजो उत्कृष्ट ३ जना थानी, विशेष आर्थिक क्षेत्र (सेज) कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र अवकाश प्राप्त सरकारका सहसचिव जीवनप्रकाश सिटौलाको नाम सरकारसमक्ष पेस गरेको थियो ।
सरकारले तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको कार्यकाल पूरा भएपछि नयाँ कार्यकारी निर्देशक नियुक्तिका लागि गत पुस २५ गते खुला प्रतिस्पर्धाको सूचना निकालेको थियो । त्यसमा १७ जनाको आवेदन परेकोमा एक जनाको मापदण्ड अर्थात् योग्यता कमजोर भएकोले रद्द भएको थियो । बाँकी १६ जनाबाट सिफारिस समितिले ३ जनाको सूची तयार गरेको थियो ।
कार्यकारी निर्देशकमा आवेदन दिनेहरूमा उल्लेखित ३ जना सहित विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्रा।डा। लक्ष्मण पौडेल, लोकबहादुर खड्का, लोकराज पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव यादव, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भुपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमार थिए ।
प्रतिक्रिया