जेलेन्स्की : शक्ति राष्ट्रविरुद्ध लड्ने बहादुर देशभक्त !

काठमाडौं । कमेडियनदेखि इन्टरनेसनल हिरोसम्म एउटा अभिनेता तथा राजनीतिक व्यंग्यकारले आफ्नो पेसा परिवर्तन गर्दै देशको सर्वोच्च पदमा उम्मेदवारी दिने हिम्मत देखाए । यो आफैंमा अकल्पनीय कुरा थियो । यद्यपि यी व्यक्तिमा त्यस्तो केही खास कुरा थियो जुन अधिकांश राजनेताहरुमा थिएन । उनको कुनै एउटा कुराले उनको कद बढाउने र चम्काउने काम गरेको थियो, खासगरी संकटको समयमा । त्यो खास चीज थियो उनको संवाद । भ्लादिमिर जेलेन्स्कीले भनेका धेरै कुरा वर्षौं-वर्ष सम्झनामा रहने खालका छन् भने कतिपय भनाइ इतिहासका पन्नामा दर्ता हुनेछन् ।
मनोरञ्जनको संसारबाट राजनीतिमा आएका जेलेन्स्की अहिले आफ्ना देशवासीहरुलाई एक भिडियो सन्देशमा एउटा राष्ट्रिय नेताका रुपमा भनिरहेका छन् ‘स्वतन्त्र मानिस ! स्वतन्त्र देश !’ जेलेन्स्कि भन्छन्, ‘हामी युक्रेनीहरु एउटा शान्तिपूर्ण राष्ट्रका नागरिक हौं तर आज हामी चुप रह्यौं भने भोलि समाप्त भएर जानेछौं ।’ उनी आफ्नो देशको विनाशमा संसारका ठूला मुलुकहरुबाट खासै सहयोग नमिलिरहेको सन्दर्भमा भन्छन्- ‘हामीलाई युद्धविरोधी गठबन्धनको आवश्यकता छ । हामी अहिले एक्लै आफ्नो देशको रक्षा गरिरहेका छौं । संसारका ठूलाठूला तागतहरु बस यो तमासा हेरिरहेका छन् । ‘सेवकदेखि राष्ट्रपतिसम्म रोनाल्ड रेगनको मृत्यु १८ वर्ष पहिले नै भइसकेको छ तर आज पनि अमेरिकीहरु उनको सम्झना गर्छन् किनभने उनी व्यवहारिक रूपमा कुनै सन्तजस्ता थिए । जेलेन्स्कीले युक्रेनमा यस्तै हैसियत र छवि बनाएका छन् ।
यद्यपि अहिले तत्काल के भन्न सकिँदैन भने भोलि के हुन्छ वा परिस्थिति कसरी बदलिन्छ ? तर अहिले स्थिति स्पष्ट छ एउटा स्वतन्त्र र स्वाभिमानी मुलुकका रुपमा यी युक्रेनी नेताले एउटा शक्ति रास्ट्रसँग गजबको अडान लिएका छन् र सारा संसार उनको हिम्मतलाई सलाम गरिरहेको छ ।
भनिन्छ रूस उनलाई मार्न चाहन्छ । जेलेन्स्की आफैं भन्छन् रूसी हमलाको एउटा निशाना उनी आफैं हुन्, रूस उनलाई मात्र होइन उनको देशलाई नै मेटाइदिन उद्दत छ । जेलेन्स्की अहिले रुसको पहिलो निशाना भएका छन् र जेलेन्स्कीको निशाना आफ्नो स्वतन्त्रता र स्वाभिमानको सुरक्षा भएको छ । केही वर्ष पहिलेसम्म जेलेन्स्की एक अभिनेता थिए । उनी मानिसहरुलाई मनोरञ्जन दिन्थे । उनले युक्रेनमा व्याप्त भ्रष्टाचार र अव्यवस्थालाई आफ्नो व्यंग्यको विषय बनाएका थिए । ‘सर्भेन्ट अफ दी पिपुल’ शीर्षकको एउटा निकै लोकप्रिय टीभी सिरियलमा उनी युक्रेनी राष्ट्रपतिको भूमिका निर्वाह गर्थे । २०१९ को निर्वाचन जितेपछि उनले आफूलाई एउटा गम्भीर राजनेतामा परिवर्तित गरे ।
एउटा यस्तो राजनेता जो संकटमा पनि नआत्तिई बिनामिहिनेत सही ढंगले आफ्नो कुरा राख्न सक्छ । उनी कमेडियन, एक्टर तथा प्रेजेन्टरका रूपमा निकै सफल थिए सायद यही कारणले उनी सही शब्द चयनका साथ वाककलामा सहज र माहिर छन् जसको ठूलो अनि सकारात्मक असर सुन्ने मानिसमा पर्छ ।
संवादमा माहिर जेलेन्स्की रूसी हमलाले युक्रेनको स्थिति लगातार खराब बनाइरहेको छ । यो समयमा आउने जेलेन्स्कीका हर अपिल पछिल्लो अपिलभन्दा बढी आवश्यक र भावुक पाइन्छ । पर्यवेक्षकहरु उनको त्यो भाषणको सम्मान र कदर गर्छन् जुन उनले रूसी हमला सुरू भएलगत्तै दिएका थिए । पर्यवेक्षकहरुका अनुसार त्यो उनको जीवनकै सर्वश्रेष्ठ भाषण थियो । भावुक, निडर र अटल रहँदै उनले रूसी सेनालाई भनेका थिए, ‘यदि हमला गर्यौ भने तिमीहरुले हाम्रो अनुहार देख्नेछौं, पिठ्यू होइन !’
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्विटरमार्फत संवाद गर्ने कलामा महारत हासिल गरेका छन् । युद्धको यो समयमा हर केही घण्टामा उनका नयाँ-नयाँ ट्विट आइरहेको हुन्छ र त्यसमा निकै अर्थपूर्ण कुराहरु हुन्छन् । एउटा युद्ध त जितिसके जेलेन्स्कीले यो युद्धमा झुटो जस्तो लाग्ने एउटा तथ्य के हो भने महाशक्ति रुसका अगाडि भुसुना मानिएको युक्रेन डटेर बहादुरीपूर्वक लडिरहेको छ र सारा संसारको जनमत उसका पक्षमा छ । युक्रेन सैन्य मामिलामा आक्रमणकारी रूसभन्दा कमजोर भए पनि वाकपटुतामा जेलेन्स्कीले पुटिनलाई निकै पछाडि छोडेका छन् । रूसी राष्ट्रपतिले पूर्वी युक्रेनका भागलाई स्वतन्त्र गणराज्य घोषणा गर्दै एक घण्टा लामो अल्छी लाग्दो भाषण दिएका थिए ।
यता जेलेन्स्की आफ्ना देशवासीलाई भरोसा दिलाउँदै भनिरहेका थिए ‘नआत्तिनुहोस्, नडराउनुहोस् ! हामी मजबुत छौँ र हर कुराको जवाफ दिन तयार छौँ । हामी हर कसैलाई हराउन सक्छौं किनभने हामी युक्रेन हौ !’ उनको शब्दमा यति प्रभाव हुन्छ कि त्यसको असर संसारभर पर्छ अनि युक्रेनका जनताको हौसला बढाउँछ उनीहरुलाई आड भरोसा दिलाउँछ ।
जब रूसी राष्ट्रपतिले पूर्वी युक्रेनमा नरसंहार भएको आधारहीन दाबी गर्दै जेलेन्स्कीलाई नाजीहरुसँग जोड्ने अनर्गल कुरा गरिरहेका थिए ताकि उनको आक्रमणलाई उचित ठहर्याउन सकियोस् त्यति बेला उनका कुरा मजाक जस्तो लाग्थ्यो । रूसी भाषा बोल्ने परिवारमा हुर्की बढेका युक्रेनी राष्ट्रपति यहुदी हुन् । उनका हजुरबुबा रेड आर्मी थिए र उनले आफ्ना तीन भाइ होलोकास्टमा गुमाएका थिए । जेलेन्स्की युक्रेनमा यति लोकप्रिय कहिल्लै थिएनन् जति आज छन् ।
रूसको हमला पहिले उनका देशवासीहरु उनीसँग असन्तुष्ट थिए किनभने तीन वर्ष पहिले पदभार ग्रहण गर्नुअघि गरिएका बढी महत्त्वाकांक्षी वाचाहरु पूरा गर्न उनी सफल भइरहेका थिएनन् । त्यसमा एउटा वाचा पूर्वी युक्रेनको विवाद समाधान गर्ने पनि थियो । पूर्वी युक्रेनको विवाद सुल्झाउन गरिएको मिन्स्क सम्झौता पनि व्यवहारमा उत्रन सकेन । त्यसपछि प्याडोरा पेपर्सको विवाद अगाडि आयो जसमा मिस्टर क्लिन भनिएका जेलेन्स्की पनि मुछिए ।
यसैगरी अन्तर्राष्ट्रिय पत्रकारहरुको एक नेटवर्कले गरेको खोजी रिपोर्टमा जेलेन्स्कीको विदेशी कम्पनीहरुसँग साँठगाँठ भएको कुरा उल्लेख गरियो । त्यससँगै राष्ट्रपति जेलेन्स्किकी श्रीमती ओलेना पनि केही विदेशी कम्पनीबाट लाभ पाउनेहरुको सूचीमा उल्लेख भइन् ।
यद्यपि रूसले युक्रेनमाथि आक्रमण गरेपछि संसार एउटा नयाँ युगमा प्रवेश गरेको छ । जेलेन्स्की यसमा एउटा प्रमुख खेलाडी भएका छन् । यो लडाइँमा जेलेन्स्कीको भूमिका वा योगदानको समीक्षा इतिहासले गर्नेछ र तय हुनेछ उनी नायक बन्छन् कि खलनायक ? अहिलेलाई उनी कमजोर मुलुक माथि आक्रमण गर्ने शक्ति राष्ट्रविरुद्ध लड्ने बहादुर देशभक्त हुन् र यही आधारमा संसारले उनी र उनको मुलुकप्रति सहानुभूति प्रकट गरिरहेको छ ।
–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा ।
प्रतिक्रिया