चुनावी तालमेलका बारेमा कांग्रेसमा तीनथरी धारणा छ : सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’ अभियानपछि मात्रै चुनावी तालमेलका बारेमा पार्टीले निर्णय गर्ने बताएका छन् । काठमाडौंको आलोकनगरमा शुक्रबार आयोजित बुथ समिति गठन कार्यक्रममा उनले एकमहिने अभियानपछि मात्रै कांग्रेसले चुनावी तालमेलबारे निर्णय गर्ने बताएका हुन् । चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीनथरी धारणा रहेको नेता सिंहले बताए ।
‘आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको छ । एकथरि एक्लै जानुपर्छ, अर्कोथरि गठबन्धनलाई निरन्तरता दिनुपर्छ । एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छ,’ उनले भने, ‘अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि वर्किङ कमिटीमा के गर्दा राम्रो हुन्छ त्यो निर्णय गर्छौं ।’
सत्तारुढ पाँचदलीय गठबन्धन कांग्रेसले चाहेर मात्रै नभएको जिकिर गर्दै सिंहले परिस्थितिज्य कारणले यो गठबन्धन बनेको प्रस्ट्याए ।
‘संविधानलाई ट्रयाकमा राखिराख्ने, यसलाई जीवन्त राख्नका लागि गठबन्धन बनेको हुनाले आवश्यकताअनुसार बनेको गठबन्धन हो,’ उनले भने, ‘यो कांग्रेसले चाहेर मात्र होइन कि परिस्थितिज्य कारणले यो गठबन्धन हो ।’

प्रतिक्रिया