बिहीबार, जेठ १०, २०८१

अमेरिकी षड्यन्त्रकै कारण एमाले नेतृत्वको सरकार ढल्यो : केपी ओली

नेपालखोज २०७८ फागुन २७ गते १५:०१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा कसैले नपत्याउने गोरु ब्याएको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई आज सम्बोधन गर्दै अहिले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै नभइ उनले ५ वटा बाच्छा समेत जन्माएको बताए ।

ओलीले संविधान बाहिर गएर प्रगतिशील सरकारलाई सर्वोच्चले ढाल्ने काम गरेको आरोप लगाए । पत्रकारहरुलाई जनादेशको समर्थन गर्ने कि परमादेशको समर्थन गर्ने रु भन्ने प्रश्न उठाउँदै ओलीले अहिले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्र नभएर पाँचवटा बाच्छा पाएको टिप्पणी गरेका हुन् । उनले आफूहरुले परमादेशको समर्थन गर्न नसक्ने पनि बताए । जनतामा रहेको सार्वभौमसत्ताको मजाक उडाएको उनले बताए ।

सेटिङमा सब काम भइरहेको समेत उनले आरोप लगाए । उनले भने, ‘यी कुरा लोकतन्त्रको पक्षमा होइन । एक जना न्यायाधीशको अभिव्यक्तिमा होइन । एउटा इमेल आउँछ, अमेरिकाबाटै इमेल आउँछ, केपी ओलीको सरकार ढाल्नु नै थियो । न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ? होइन त्यहाँनेर वर्गी पूर्वाग्रह दुराग्रह र विकास विरोधी षड्यन्त्र भएको थियो भन्ने कुरा त्यस इमेलले बताउँछ ।’

अमेरिकी षड्यन्त्रकै कारण विधानभन्दा बाहिर गएर आफू नेतृत्वको सरकार ढाल्ने काम भएका उनको जिकिर थियो । उनले भने, ‘संविधान बाहिर गइगइकनै हामीले यत्रो ठूलो उपलब्धि हासिल गरेका छौँ कि एउटा जननिर्वाचित सरकारलाई ढालेका छौँ । नभएको अधिकार प्रयोग भएको छ अदालतबाट । तर नेपालमा एकपल्ट एक जनाले भनेका थिए-गोरु ब्याउँदैन भन्थे नेपालको सर्वोच्च अदालतमा ब्यायो । उनले उहिल्यै ०५२ सालमा भनेका थिए । अहिले गोरु ब्याएन मात्रै होइन ५ वटा बाच्छा पायो ।’

ओलीले पूराना राजनीतिज्ञ दिवंगत राजेश्वर देवकोटाको भनाई स्मरण गर्दै सर्वोच्च अदालतको परमादेशबाट गोरुले अहिलेको सत्ता गठबन्धन नामक पाँचवटा बाँच्छा पाएको आरोप लगाए । ओलीले भने, ‘तपाई परमादेशको समर्थन गर्ने कि जनादेशको ? सबैलाई खुसी पार्न सकिँदैन । परमादेशका नाममा जनादेशको माखौल उडाइएको छ । सेटिङमा सबै काम भइरहेको छ ।’

अध्यक्ष ओलीले संसदले सरकार बनाउने अधिकारसमेत परमादेशबाट खोसिएको भन्दै मुलुक अहिले दुई धारमा बाँडिएको बताए । मुद्दा मामिलाबाट सरकार बनाउने जाली फटाहाको राजनीति एउटा र जनादेशमा आधारित राजनीति अर्को दिशामा रहेको उनले बताए । ओलीले भने, ‘देशको अर्थतन्त्र ध्वस्त हुँदैछ । देशको राजनीति विग्रन नदिन कति हाामीले बलिदान दिने रु अब बलिदान दिने होइन,संघर्ष र दबाबबाट सुधार गर्नुपर्छ । निर्वाचनको माध्यमबाट नै गर्छौं । सडकमा गइरहनुपर्ने धेरै अवस्था पनि छैन । हामी निर्वाचनबाटै ठेगान लाउन सक्छौं, किनकी महान जनताको साथमा हामी छौं ।’

प्रतिक्रिया