बुधबार, जेठ १६, २०८१

राप्रपा नेपाल राष्ट्रिय दल बन्छ : कमल थापा

नेपालखोज २०७८ फागुन २७ गते १६:२१

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा हाँसिल गर्ने दाबी गरेका छन् । राजधानीमा आयोजित साक्षात्कारमा थापाले राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दल राप्रपा नेपाल बन्ने दाबी गरे ।

उनले अहिले पार्टीको संगठन निर्माणको काम युद्धस्तरमा भैरहेको बताए । उनले अहिले पार्टी सम्पूर्ण रुपमा स्थानीय तहको निर्वाचनको लागि तयारीमा होमिएको बताए । उनले भने, ‘हामी अहिले युद्धस्तरमा संगठन निर्माणको तयारीमा छौं । स्थानीय तहको निर्वाचनमा हामी सहभागी छौं । हाम्रो प्राथमिकता संसदीय निर्वाचनमा छ । आगामी निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउने तयारी गरेका छौं ।’

उनले अहिले नेपालको राष्ट्रिय राजनीति संटकको चक्रव्यूहमा फसेको समेत बताए । ७ महिनादेखि संसद् अवरुद्ध रहेको र न्यायपालिकाभित्रको अराजकता अझै समाधान नभएको समेत स्पस्ट पारे । उनले देशलाई संकटबाट मुक्त तुल्याउनको लागि ताजा जनादेश र संसद्को निर्वाचनमा चाँडो नै जानुपर्ने उपयुक्त विकल्प रहेको बताए ।

थापाले अहिले प्रमुख दलहरुको अदुरदर्शीताको कारण पनि देश संकटको चक्रव्यूहमा फसेको टिप्पणी गरे । उनले भने, ‘वाह्य शक्तिको चलखेल र प्रभाव तिव्र रुपले बढेको छ । नेपाल विश्व महाशक्तिहरुको रणनीतिक स्थल बन्नसक्ने संकेत देखापरेको छ । पछिल्लो समय एमसीसीका सम्बन्धमा विवाद देखिँदा त्यसले पनि नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेलको केन्द्र बन्नसक्ने खतरा छ ।’

प्रतिक्रिया