शनिबार, वैशाख १५, २०८१

पत्रकारले गराए सरकारलाई सचेत

नेपालखोज २०७८ वैशाख २० गते १५:३३

काठमाडौं । आज मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिबस, यस अवसरमा पत्रकारहरु एकअर्कासँग शुभकामना साटासाट गरिरहेका छन् । सामाजिक सञ्जालहरु पत्रकारका आआफ्ना शैलीका शुभकामनाले भरिएका छन् ।

नेपाल पत्रकार महासंघका पूर्वसभापति धर्मेन्द्र झा लेख्छन् – सूचना सार्वजनिक सम्पति हो, यसमा सबैको पहुँच हुनुपर्छ । सूचना प्राप्तिको स्वतन्त्रता नहुञ्जेल अन्य कुनै पनि स्वतन्त्रताले अर्थ प्राप्त गर्न सक्दैन ।

सकृय श्रमजीवी पत्रकार दिपेन्द्र बडुवाल भन्छन् – यहाँ सबै नाटक हो । प्रेस स्वतन्त्रता पनि नाटकै भइसक्यो । त्यसैले पहिले प्रेस स्वतन्त्र बनोस् ।

दाङका पत्रकार एवं मानवअधिकारकर्मी सुशील बस्नेत यो अबसरमा श्रमजीवीको पेसागत तथा भौतिक सुरक्षाको सुनिश्चितता होस् भन्ने चाहन्छन् ।

पत्रकार नेतृ निर्मला शर्मा बर्तमान परिपेक्षमा (कोरोनाको कहरमा )सबै पत्रकारहरुले सुरक्षित रहेर मात्रै आफनो काम–कर्तव्य पुरा गरौं भन्दै प्रेस स्वतन्त्रताको रक्षाका लागि अपिल गरेकी छन् ।

पत्रकार महासंघका एसोसिएट सचिब पवन आचार्य भन्छन् ‘प्रेस स्वतन्त्रताको रक्षा अरु कसैले गर्ने होईन, सञ्चारकर्ममा लागेका तपाईं हाम्रो कर्म, वचन र व्यवहारले नै यसको संवर्द्धन हुने हो, त्यसैले त्यतातिर लाग्न सबैमा प्रेरणा मिलोस् ।’ उनले थप लेखेका छन् ‘धर्मो रक्षति रक्षितः भनेजस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा मन, वचन र कर्मले गर्न सक्यौं भने त्यसैले हाम्रो रक्षा गर्छ ।’

महासंघका वर्तमान सभापति बिपुल पोखरेल भन्छन् –नागरिक अधिकारको निर्वाधरुपमा उपयोग गर्ने वातावरण बनाउनका लागि पनि प्रेस स्वतन्त्रता आवश्यक हुन्छ ।

प्रेस स्वतन्त्रताविना लोकतन्त्र पनि असुरक्षित हुन्छ भन्दै महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवाल यसको मजबुतीमा सबैको ध्यान पुग्नुपर्ने बताउँछन् ।

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल लेख्छन् ‘स्वस्थ, स्वच्छ, मर्यादित र सुरक्षित पत्रकारिता गरौँ, स्वतन्त्र प्रेसको सम्मान गरौं, प्रेसमाथि लगाईने कुनै पनि अंकुश र कानुनबिरूद्ध सम्पुर्ण पत्रकार एक जुट हौं ।

पाल्पाका पत्रकार माधब अर्याल आफ्नो शुभकामनामा भन्छन् पत्रकारले मात्र पत्रकारिता गरौं, पत्रकारितालाई मानिस थर्काउने माध्यम नबनाऔ । यो पेशा स्वच्छ र मर्यादित पेशा बनोस् । पत्रकारितामा रवाफ, दवाफ र प्रभाव नहोस् ।

प्रेस युनियनका महासचिब अजयबाबु शिवाकोटीले आफ्नो शुभकामनामा प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारको सम्मानजनक पहिचानको लागि क्रियाशिल बनौं भन्ने शन्देश दिएका छन् भने प्रेस काउन्सिल नेपालका सदस्य दिपक पाण्डे आफ्नो सन्देशमा सत्यतथ्य सूचना मात्र सम्प्रेषण गरौ भन्ने आग्रह गर्छन् ।

चन्द्रकिशोर झा लेख्छन् ‘बहुदलीय लोकतन्त्रमा दलहरु ले स्वस्थ प्रतिस्पर्धा गर्ने तथा भूई सतहका मानिसहरुको आवाज शासकीय निर्णयमा पुग्ने वातावरण बनाउन पत्रकारिता मार्फत सदैव उच्चतम स्वतन्त्रता प्राप्त भई रहोस् । “अच्छा पत्रकारिता” ले नै प्रेस स्वतन्त्रताको गरिमा कायम राख्न सक्छ । राजनीतिले फगत चोचोमोचो मिलाई राख्ने हो, जनताको असली सार्वभौमिकता र स्वतंत्रताको चेत जोगाउने त पत्रकारिताले नै हो ।

चलचित्रकर्मी जनकदीप पराजुली यो दिन प्रेस शब्द जस्तै स्वच्छ र स्वतन्त्र समाचार हेर्न, पढ्न अनि सुन्न पाइयोस भन्ने कामना गर्दछन् भने युवा साहित्यकार मीनराज वसन्त बिनाधाकधम्की, बिनाअङ्कुश सत्यतथ्य लेख्ने वातावरण बनिरहोस् भन्ने चाहन्छन् ।

युवा पत्रकार रामकृष्ण भण्डारीको बिचारमा प्रेस स्वतन्त्रता नागरिक अधिकार र लोकतन्त्रका लागि हो । त्यसैले उनी निष्पक्ष, स्वतन्त्र र मर्यादित पत्रकारितामा जोड दिन्छन् ।

अर्का पत्रकार खिलबहादुर भण्डारी भन्छन् – जथाभावी, जे मन लाग्यो त्यही लेख्नु प्रेस स्वतन्त्रता होईन । त्यसैले होला उनले विशाक्त होईन, अर्गानिक कलमजीविहरूलाई मात्र शुभकामना दिएका छन् । राजी दहालले भनेका छन् ‘प्रेस स्वतन्त्रताको ओठेभक्ति होइन, व्यबहारमा देखाऔं। लोकतन्त्र रहे न प्रेस स्वतन्त्रता ?

बुटवलका पत्रकार प्रकाश डुम्रेको आग्रह छ परिवर्तन र जनताका पक्षमा कलम चलाउ । यसक्रममा भवानी अधिकारी लेख्छिन् सुचना र समाचार हाम्रा सम्पती र अधिकार पनि । संविधानको प्रस्तावना अनुरुप पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता कानून र व्यवहारमै अनुभूत गर्न पाउँ ।

पत्रकार महासंघका पूर्वसचिब रामप्रसाद दहालले महाव्याधीको असरबाट हाम्रा संचार गृहहरू गर न मरको अवस्थामा छन् भन्दै लेखेका छन् ‘संचार गृह बचाउदै श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र स्वास्थ्य सुरक्षा गर्न सके मात्र प्रेस स्वतन्त्र रहन सक्छ ।’

सूचना सार्वजनिक हितका लागी भन्दै टेलिभिजन पत्रकार आरती चटौत यो बिषम परिस्थितिमा नागरिकको सूचनाको हक सुरक्षित गर्ने र प्रेस स्वतन्त्रताको पक्षमा निर्वाह गरेको भूमिका प्रति सम्बद्ध सबैलाई सलाम भन्छिन् । आरतीको भनाई छ ‘हरेक अवस्थामा समय मै सत्य, तथ्य र सन्तुलित समाचार र सूचना सम्प्रेषण हाम्रो पहिलो कर्तब्य र प्रतिबद्धता”

युवा पत्रकार श्रीधर पौड्याल लेख्छन् ‘पहिले आफु अनुशासित बनौँ अनि प्रेस स्वतन्त्रता भनौँ।’

कार्टुनिस्ट योगेश खपाङिको तर्क छ, संसारभरीका जुनसुकै सरकार पनि स्वेच्छाचारी बन्न चाहन्छन् । त्यसलाई जनपक्षीय बनाइराख्ने दायित्व प्रेसको हो । सरकारले जुनसुकै किसिमको प्रलोभन देओस् वा कठीन परिस्थिती सिर्जना गरोस्, प्रेस सधैँको प्रतिपक्ष हुनुपर्छ ।

प्रतिक्रिया