कांग्रेसलाई चुनाव जिताउन नेविसंघको भूमिका ?

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अगुवा नेता तथा कार्यकर्ताहरुले युवा विद्यार्थीहरुलाई आगामी स्थानीय तहको चुनावमा महत्वपूर्ण भूमिका दिनुपर्ने धारणा राखेका छन् । राजधानीमा आज पत्रकार सम्मेलन गर्दै आगामी चुनावमा कांग्रेसलाई जिताउन नेविसंघले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।
नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डेले नेविसंघको नेतृत्व कस्तो हुनुपर्ने त्यसको बारेमा छलफल हुनपर्ने बताए । उमेरको आधारलाई नहेरेर सबै समस्यालाई उठान गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको उनले स्पस्ट पारे। नेविसंघका पूर्व सह-महामन्त्री तथा प्रवक्ता प्रेमराज जोशीले नेविसंघ के हो, आवश्यकता के रहेको छ, भनेर सबैलाई बुझाउनुपर्ने आवश्यकता रहेको बताए । नेविसंघको १२ औं महाधिवेशन नभएकोले अहिले लथालिंग अवस्थामा पुगेको उनको भनाई थियो ।
पूर्व केन्द्रीय सदस्य प्रेमिका राना मगरले नेपाली कांग्रेसलाई आगामी स्थानीय तहको निर्वाचन जित्न नेविसंघको भूमिका महत्वपूर्ण रहेको बताइन् । नेविसंघ पार्टी संगठनहरुको बारेमा मौन रहेको उनले बताइन् । नेविसंघका सभापति टंक सुवेदीले नेपाल विद्यार्थी संघ खोइ ? भन्दै प्रश्न गरे । नेविसंघको नेतृत्व नहुँदा सबै लथालिंग भएको उनको भनाई थियो । नेविसंघले गर्दा हरेक जिल्लाका समस्या समाधान र आन्दोलन सफल भएको पनि उनले जिकिर गरे ।
यसैगरी, नेविसंघका पूर्व केन्द्रीय सदस्य तारक केसीले केन्द्रीय नेतृत्व भताभुंग भएपनि नेविसंघका क्याम्पस र जिल्ला स्तरका कमिटिहरु क्रियाशिल रहेको बताए । नेविसंघका अध्यक्ष सुमन बुढामगरले नेविसंघको केन्द्रीय समिति नहुनु सबैभन्दा लज्जास्पद कुरा भएको बताए । आफु बाध्य भएर काठमाडौं आएर कार्यक्रमको आयोजना गर्न परेको उनले स्पष्ट पारे ।
नेविसंघका नेताहरुलाई ३२ वा ३२ भन्दा कम उमेर हदको बारेमा धेरै नसोची आगामी चुनावमा नेपाली कांग्रेसलाई जिताउन समेत आग्रह गरे ।
प्रतिक्रिया