सात महिनामा ४.९ प्रतिशतले घट्यो विप्रेषण आप्रवाह

काठमाडौं । वैदेशिक रोजगारीबाट प्राप्त आय (रेमिटेन्स) अर्थात विप्रेषण आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी सात महिनाको प्रतिवेदनअनुसार यस अवधिमा रेमिटेन्स ४ दशमलव ९ प्रतिशतले कमी आई पाँच खर्ब ४० अर्ब १२ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १० दशमलव ९ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह पाँच दशमलव आठ प्रतिशतले कमी आई चार अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह छ दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्यरुपमा वृद्धि भई दुई लाख एक सय दुई पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५ दशमलव चार प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा दुई सय ६५ दशमलव नौ प्रतिशतले वृद्धि भई एक लाख ५२ हजार तीन सय २५ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३ दशमलव एक प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर चार दशमलव दुई प्रतिशतले कमी आई छ खर्ब तीन अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर आठ दशमलव नौ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया