बुधबार, वैशाख २६, २०८१

नायक राजेश हमालको स्वरमा रहेको ‘गाउँले ठिटो’ सार्वजनिक

नेपालखोज २०७८ फागुन २७ गते १८:२७

काठमाडौं । नेपाली चलचित्रका नायक राजेश हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’ रिलीज भएको छ । आज राजधानीमा एक कार्यक्रमका बिच नायक हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’ को गीत र भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ ।

गोबिन्द भट्टको शब्द रचना तथा सन्तोस श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभुषामा देखिएका छन् । रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणिय व्यक्ति बनेको कथा उक्त भिडियोमा रहेको छ । भिडियोमा हमालको साथमा उत्तम केसी, गोबिन्द भट्ट, एस.के. दाहाललगायतको अभिनय रहेको छ ।

कार्यक्रममा बोल्दै महानायक हमालले आफू गायक नभई नायक नै भएको र गायन केवल प्रयास मात्रै रहेको बताए । हमालले आफूले अभिनय गरिरहेका अन्य म्यूजिक भिडियो जस्तो यो गीत नभएको बताउँदै तीन महिनाको मेहनत पछि यो गीत तयार भएको बताए ।

कार्यक्रममा हाल चर्चित ‘मेयर बन्नुपर्छ कि क्या हो’ भन्ने प्रसंगमा हमालले आफुले व्यंगात्मक रुपमा उक्त कुरा भनेको बताए । कार्यक्रममा हमालकी पत्नी मधु भट्टराईको पनि उपस्थिती थियो । भट्टराईले हमालको गायन क्षमता यति धेरै राम्रो छ भनेर आफूलाई पहिले थाहा नभएको बताईन् । गीत हेर्दा रमाईलो लागेको बताउँदै उनले यो गीत गाउन आफूले प्रेरित गरेको सुनाईन् ।

प्रतिक्रिया