आइतबार, जेठ ६, २०८१

सकियाे नेपालगन्ज फोटो फेस्टिभल, तीन हजारले गरे अवलाेकन

नेपालखोज २०८० वैशाख ११ गते १४:४१

नेपालगन्ज । तेस्रो नेपालगन्ज फोटो फेस्टिभलमा स्थानीय फोटोग्राफरहरुबाट खिचिएका स्थानीय प्रकृति र जनजीवनका ८ विधाका १ सय १५ फोटाहरू प्रदर्शनीमा राखिएको थिए भने तीन हजार जनाले अवलोकन गरे। दुई दिनसम्म चलेको अन्तरालको आयोजना र व्यवस्थापनमा भएको सो फेस्टिभलका बिजेताहरूलाई पुरस्कृत पनि गरिएको छ ।

प्रदर्शनीमा ‘वर्ष फोटो’ विजेता मुगुका पत्रकार राजबहादुर शाही भए। उनलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ । एग्रिकल्चर विधामा आएको राजबहादुर शाहीले खिचेको मुगुको छायाँनाथ रारा नगरपालिका स्थित ताल्चा गाउँकी एक महिला रुखमा लटरम्म फलेको स्याउ टिप्दै गरेको तस्बिरले फोटो अफ दि एयरको उपाधि जितेको हो ।

यसैगरी शुक्रबार देखि सुरु भएको फेस्टिभलमा खेलकुद विधाका विजेता सत्यम् जोशी, पर्यटन विधाका विजेता सृजना ओली, संस्कृति तर्फको विजेता बबि साई, प्रकृति र संरक्षण तर्फको विजेता श्रीराम खत्री, दैनिक जीवनतर्फ मनोज पौडेल, कृषितर्फ राजबहादुर शाही, नेपाल स्माइल र समाचार विधाका विजेता अंगद ढकाललाई नगद जनही ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो।

न्युज विधामा मोतिबिन्दुको अपरेसन गरेर पाँच वर्षपछि पुन आँखा देख्न पाएका रामेछाप भतौलिका ८० वर्षीय रुद्रलाल तामाङ डा सन्दुक रुइतको नाक छोएको अंगद ढकालले खिचेको फोटो उत्कृष्ट भयो । यस्तै ढकालले नै खिचेको फोटो नेपाल स्माइलमा उत्कृष्ट हुँदा शाहीले खिचेको मुगुमा जोत्दै गरेको किसानको फोटो कृषि विधातर्फ उत्कृष्ट हुन सफल भयो । यसै गरी बब साईको पोखरामा बराहा भैरव नाचको तस्बिरले कल्चर विधामा उत्कृष्ट हुँदा मकवानपुरको हेटौडामा पाडोलाई झोलुङ्गे पुल तराउँदै गरेको मनोज पौडेलको तस्बिर डेली लाइफमा उत्कृष्ट भयो ।

नेचर एन्ड कन्जरभेसनमा श्रीराम खत्रीको काठमाडौँको टौदहमा पानीबाट माछा मार्दै ग्रेट कर्मोरान्टहरू तस्बिर उत्कृष्ट भयो भने क्रिकेटमा क्याच लिन प्रयास गर्दैैै गरेको सत्य म जोशीको तस्बिर स्र्पोट्स विधामा उत्कृष्ट भयो । टुरिजम विधामा भने सिर्जना ओलीको तस्बिर उत्कृष्ट भयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा फोटो पत्रकार विकास कार्की, फोटो पत्रकार क्लबका अध्यक्ष श्रुति श्रेष्ठ र फोटोग्राफर रमेश मल्ल रहेको निर्णायक समितिले उत्कृष्ट फोटोहरूको छनौट गरेको थियो ।

मोफसलमा क्षेत्रीय स्तरमा सुरुवात भएको फोटो फेस्टिभल राष्ट्रिय स्तरमा स्थापित भएकोमा खुसी व्यक्त गर्दै नेपालको प्रवर्द्धन गर्ने फोटोहरूलाई मात्र नभएर फोटोग्राफरहरूलाई पनि फोटोसँगै प्रवर्द्धन गर्नुपर्ने र फेस्टिबलले नेपालको फोटोग्राफीको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा वरिष्ठ फोटो पत्रकार विकास कार्कीले बताए।

समापन समारोहका प्रमुख अतिथि राखेप सदस्य सदस्य सचिव टंकलाल घिसिङले नेपालगन्जलाई राष्ट्रिय स्तरमा चिनाउन फोटो फेस्टिवलले थप सहयोग गरेको बताए । उनले नेपालगन्ज हरेक विधामा उत्तिकै अब्बल भएको र खेलकुदका लागि त झन् नेपालगन्ज महत्वपुर्ण सहर भएको बताए । फोटोले वास्तविक सन्देश दिने भएकोले यसको महत्व धेरै हुने गरेको सदस्य सचिव घिसिङको भनाई छ । उनले शब्दहरु लेख्दा सबै कुरा नआउन सक्छ अथवा आएका कुराहरु केहि फरक भएर आउन सक्छन । तर यर्थाथ कुरा फोटोले बोल्ने उनले बताए।

वर्ष फोटो विजेता राजबहादुर शाहीले दुर्गम क्षेत्रमा बसेर पत्रकारिता गर्न निकै कठिन रहेको भन्दैं फेस्टिवलको विजेता बन्दा आगामी दिनमा आफनो क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताए। आयोजक अन्तरालका कार्यकारी निर्देशक शाहले विषम परिस्थितीका बाबजुद पनि फेस्टिवललाई निरन्तरता दिइरहेको बताउँदै आगामी दिनमा यसलाई अझै परिस्कृत गर्दै लग्ने बताए।

शुक्रबार देखि सुरु भएको फेस्टिवलको नेपाली कांग्रेसका सह–महामन्त्री एवम् बाँके क्षेत्रं ३ का संघीय सांसद किशोर राठौरले उद्घाटन गरेका थिए। बागेश्वरी असल शासन क्लब, नेपालगन्ज ग्यालरी र रक्षक सेक्युरिटिजको सहकार्यमा भएको फोटो फेस्टिभल भएको थियो । फेस्टिवलको फोटो प्रतियोगितामा डेलि लाईफ,कल्चर, टुरिजम, नेचर एण्ड कन्जरभेसन, स्र्पोट्स, नेपाल स्माईल, एग्रिकल्चर र न्युज बिधामा करिब २ हजार फोटोहरुको सहभागिता रहेको थियो ।

बिजेताहरूलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टंकलाल घिसिङ, राखेप सदस्य अन्जन धमला, केलएल दुगड ग्रुपका प्रमुख कार्यकारी अधिकृत प्रदिप छाजेड, आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह, फेस्टिभल निर्णायक टिमका संयोजक विकास कार्की र रमेश मल्लले पुरस्कृत गरेका थिए । Source – INS

प्रतिक्रिया