झापा गोल्डकपमा सातदोबाटोलाई हराउँदै आर्मी लगातार चौथोपटक फाइनलमा

काठमाडाैं । त्रिभुवन आर्मी क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटो युथ क्लबलाई ४-१ गोलान्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो ।
आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल मात्र फर्काउन सक्यो । खेलको २७औं मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्रि-किकमा सुमनले गोल गरे । पहिलो हाफको थप समयमा सातदोबाटोले गोल फर्कायो । उसका लागि सुशील राईको क्रसमा दिपकराजसिंह ठकुरीले गोल गरे ।
दोस्रो हाफमा आर्मीले ३ गोल थप्यो । ६० औं मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई २-१ मा पुर्याए । ८० औं मिनेटमा नवयुग श्रेष्ठको हेडरमा टेकबहादुर बुढाथोकीले गोल गर्दै सातदोबाटोसँग फराकिलो अन्तर बनाए । ८४ औं मिनेटमा टेकबहादुरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । उनले कमलबहादुर थापाको पासमा गोल गरेका हुन् ।
स्टार खेलाडी गुमाएको सातदोबाटोले निर्धारित ९० मिनेटमा आर्मीविरुद्ध खासै मुभ बनाउन सकेन । ५३ मिनेटमा स्ट्राइकर सुशील राईको पासमा सातदोबाटोका स्कोरर दिपकराजसिंह ठकुरीको कडा प्रहार विपक्षी गोलरक्षक विकेश कुथुले पञ्च गरेर बचाए । आर्मीले खेलमा एक दर्जनभन्दा बढी अवसर सिर्जना गर्यो ।
छैठौँ मिनेटमा आर्मीका दिपक गुरुङको प्रहार आकासियो । १५ औं मिनेटमा सन्तोष तामाङले पेनाल्टी एरियाबाट गरेको प्रहार खेर जाँदा आर्मी अग्रता लिने अवसरबाट बञ्चित भयो । २५ औं मिनेटमा टंक बस्नेतको क्रसमा टेकबहादुर बुढाथोकीले गरेको हेडर विपक्षी गोलरक्षक अभिषेक बरालले पञ्च गरेर बचाए । ४१ औं मिनेटमा टंक बस्नेतको प्रहार पोस्टमा लागेर फर्कियो । ५८ औं मिनेटमा सन्तोष तामाङको प्रहार फस्र्टबारमा लागेर फर्कियो ।
शुक्रबारको खेलको प्लेयर अफ द म्याच सन्तोष तामाङ तामाङ भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाए । शनिबारको अन्तिम सेमिफाइनल खेल झापा–११ फुटबल क्लब र संकटा क्लबबीच हुनेछ । आर्मीले अब शनिबारको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । आर्मी लगातार चौथोपटक फाइनल प्रवेश गरेको हो ।
प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले नगद १२ लाख ५५ हजार प्राप्त गर्दा उपविजेताले नगद ६ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ भने प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइनेछ ।
प्रतिक्रिया