आइतबार, वैशाख २८, २०८२

साफ यू-१८ महिला च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको बिदाइ

नेपालखोज २०७८ फागुन २७ गते १८:५२

काठमाडौं । भारतमा आयोजना हुन लागेको साफ यु–१८ महिला च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीलाई आज अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ । एन्फा मुख्यालयमा एक कार्यक्रमको आयोजना गरेर महिला टोलीलाई बिदाई गरेको हो ।

बिदाई पछि बोल्दै नेपाली टोलीकी कप्तान प्रिति राईले तीन टोली सम्मिलित प्रतियोगितामा आफ्नो लक्ष्य उपाधि उचाल्ने रहेको बताएकी हुन् । नजिकिँदै गरेको महिला लिगका लागि खेलाडीले तयारी गरिहेकाले खेलाडीको फिटनेस राम्रो भएको र बलिया टोली भएपनि राम्रो खेलेर उपाधि लिएर आउने कप्तान राईले बताइन् ।

लगातार दुई संस्करणको उपाधि विजेता बंगलादेश र पछिल्लो संस्करणको उपविजेता आयोजक भारतसँग खेल्ने नेपाली टोलीले करिब एक महिनाको प्रशिक्षण अनुभव लिएर प्रतियोगितामा सहभागिता जनाउँदै छ । महिला टोलीलाई अनुभवि दिलाउने लक्ष्य सहित प्रतियोगितामा सहभागिता जनाउन लागेको भन्दै महिला विभाग प्रमुख हरि खड्काले बलिया टोलीसँग राम्रो फुटबल खेलेर स्वदेश फर्किने बताए ।

सन २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगिताको सेमिफाइनलमा भारतलाई हराएको नेपाली टिम बंगलादेशसँग पराजित भएपछि उपाधिबाट बन्चित भएको थियो । तेस्रो संस्करणको प्रतियोगिताका लागि आयोजक भारत सहित नेपाल र बंगलादेशले भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म प्रतिस्पर्धा गर्दै छन् । च्याम्पियनसिपका लागि टोली शनिबार भारत प्रस्थान गर्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ । नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ भने दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ । यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दो मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

शीर्ष टोलीले उपाधि जित्नेछ । यहि प्रतियोगिताका लागि मुख्य प्रशिक्षका दर्शन भक्तराज लावतले बिहीबार २३ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेका थिए । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा पदाधिकारी र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिब कोइराला लगाएतले विदाई गरेका थिए ।

प्रतिक्रिया