शनिबार, असार २१, २०८२

ललितपुरमा महिला उद्यमी मेला सुरु

नेपालखोज २०७८ फागुन २७ गते २०:४६

ललितपुर । महिला सशक्तिकरणको आधार : उद्यमशीलता र रोजगार भन्ने नाराका साथ ललितपुरको नागबहालमा आजदेखि महिला उद्यमी मेला सुरु भएको छ । १ सय १२ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुुर महानगरपालिका– १६ ले सो मेलाको आयोजना गरेको हो ।

मेलाको उद्घाटन गर्दै वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले महिलाद्वारा उत्पादित सामग्री प्रवद्र्धन गर्न यस किसिमका मेलाहरु उपयोगी रहेको धारणा राखे । मन्त्री लामाले ललितपुरमा हस्तकलाका सामग्री अन्तर्राष्ट्रिय बजारमै ठूलो माग हुने गरेको र नेपालले तुलनात्मक लाभ लिन सकिने सामग्री रहेको बताउँदै यसको प्रर्वद्धनमा राज्यले ठोस र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सो अवसरमा वाग्मती प्रदेशका सांसद् शोभा शाक्यले ललितपुरलाई विश्वको ३५ औं कला नगरीको घोषणा गरेको तीन वर्ष बितिसक्दा पनि त्यस दिशामा खासै काम नभएको बताए । ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले महिलालाई आर्थिक रुपमा सबलीकरण नगरेसम्म महिला व्यावहारिक र वास्तविक रुपमा सशक्तिकरण नहुने धारणा राखे ।

मेलाका मुख्य संयोजक एवं वडाअध्यक्ष निर्मलरत्न शाक्यले वडाले पूर्वाधार विकाससंगै मानवीय विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको जानकारी दिँदै मेला यसैको एउटा कडी रहेको धारणा राखे । आईतबारसम्म सञ्चालन हुने सो मेलामा महिलाद्वारा उत्पादित र महिला संलग्न रहेको व्यवसाय सम्बद्ध ५१ वटा स्टलहरु राखिएको छ ।

धातुका मूर्तिहरुका बुट्टा कोर्ने, परम्परागत रुपमा सूकुल बुन्ने तरिका विषयमा जीवन्त प्रदर्शनी मेलामा हर्न सकिने छ । ललितपुर उद्योग वाणिज्यले ललितपुरमा उत्पादित वस्तुको प्रवद्र्धन अघि सारेको मेड इन ललितपुरको अवधारणा अनुरुप ललितपुरमा उत्पादित वस्तुको स्टल विशेष महत्वका साथ राखिएको छ । नेपाल हस्तकला महासंघ, ललितपुर हस्तकला संघको तर्फबाट धातुका मूर्तिहरु र अन्य हस्तकलाका सामग्रीहरु पनि प्रदर्शन तथा बिक्री वितरणको लागि राखिएको छ ।

प्रतिक्रिया