शनिबार, वैशाख २२, २०८१

कसको हो ?

राबत २०७८ फागुन २८ गते ७:१३

सँधैंसँधैं आँखामा ठोक्किने
सँधैंसँधैं बाटो छेक्न खोज्ने
सँधैंसँधैं एकसुरले फर्फराइरहने
यो देशको झन्डाजस्तै
त्यो पीपलको हाँगामा झुन्डिएको
रातो सलवार कसको हो ?

कतै-
कोठीका भित्ताहरूमा
घस्रँदा-घस्रँदा सुर्किएका धागोहरू
कतै-
गलैंचा कारखानाका मसिना झिन्डुहरू
र, कतै-
तलमाथी सार्दासार्दा छिनेको इँजार
साँच्चै,
एकसुरले फर्फराइरहने
यो देशको झन्डाजस्तै
त्यो पीपलको हाँगामा झुन्डिएको
रातो सलवार कसको हो ?

र, कसका हुन्
त्यो सलवार मास्तिर
बन्दै-भत्किने अनुहारहरू?
कसको हो
त्यो सलवार मास्तिर किमा बनाइएको छाती ?
कसका हुन्
त्यो रातो सलवारमा
ठिक्क अटाउने तिघ्राहरू ?

सँधैंसँधैं आँखामा ठोक्किने
सँधैंसँधैं बाटो छेक्न खोज्ने
सँधैंसँधैं एकसुरले फर्फराइरहने
यो देशको झन्डाजस्तै
त्यो पीपलको हाँगामा झुण्डिएको
रातो सलवारमा गनाउने
तात्तातो विर्य कसको हो ?

प्रतिक्रिया