शुक्रबार, जेठ ११, २०८१

प्रचण्ड-माधवलाई मूला उखेलेझैं उखेलेर जनताले फालिदिन्छन् : केपी ओली

नेपालखोज २०७८ फागुन २८ गते १३:०६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामा जाने कुरालाई प्रचण्ड-माधव समूहले प्रतिगमन भनेको बताए । नेपाल निजामति कर्मचारी संगठनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार पाँचजना न्यायाधीशले नियुक्त गरेको बालुवाको मूला जस्तै भएको बताए ।

उनले आगामी चुनावबाट जनताको अभिमतबाट सरकारलाई उखेलेर मिल्काइदिने दावी समेत गरे । अध्यक्ष ओलीले अबको चुनावमा एमालेले स्वीप आउट गर्ने बताए । चुनावमा जाँदा आफू स्वाहा हुने डर भएकाहरुले चुनाव गर्ने कुरालाई प्रतिगमन भन्ने गरेको टिप्पणी उनले गरे । उनले भने, ‘यो सरकार ठीक छ कि छैन भन्ने कुरा तपाईँहरुले छुट्याउने होइन, यसलाई हामी ठीक पारिहाल्छौं नि । आज म अपोजिसन लिडरको हैसियतमा भन्दैछु, तपाईंहरुले गभर्मेन्टलाई असहयोग गर्न मिल्दैन्, गभर्मेन्टलाई सहयोग गर्नुहोस । तपाईँहरुको काम भनेको गभर्मेन्टलाई असहयोग गर्ने होईन, तपाईँहरुले साथ दिने हो, सहयोग गर्ने हो । यो गभर्मेन्ट ठीक छ कि छैन, तपाईँहरुले धेरै छुट्याउने होईन । यो गभर्मेन्ट ठीक त हामी बनाईहाल्छौं नि । यो केही होइन, मुलाको पनि सानो तिनो भएपनि जरा हुन्छ, यसको त जरा न बरा, यसको त केही पनि छैन, यो त बालुवामा लगेर राखेको नक्कली मुलाजस्तो हो, फुत्त आउँछ । हल्लाउनुपनि पर्दैन्, यो त फुत्त आउँछ ।’

उनले कर्मचारीलाई वर्तमान सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले भने, ‘उनीहरु भाग्न खोज्दैछन्, भागेर कहाँ जान्छन् ? कहाँ जाने ? चुनाव त गर्नैपर्छ, हामी आज अपोजिसनमा छौं । थाहा छ, अपोजिसनमा छौं, हजारौं मान्छे एमाले प्रवेश गर्दैछन् ।’

ओलीले दिनहुँ पार्टी प्रवेशको लहर चलेको र आजै पनि वारामा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहितलाई प्रवेश गराउने आफू जान लागेको बताए । ओलीले भने, ’यिनीहरु चुनावबाट भाग्न खोज्दैछन्,भागेर कहाँ जान्छौ ? चुनाव त गराउनैपर्छ । त्यहीबेला हामी जनताको अभिमतबाट उखेलेर मिल्काइदिन्छौं । परमादेशबाट एमालेलाई हटाइयो,अब रोकिन्छ भन्ने नसोचे हुन्छ । एमाले एउटा भेल हो,यो भेल अगाडि आउँदैछ निर्वाचनको माध्यमबाट ।’

उनले वीरगन्जका मेयर पनि एमाले प्रवेश गर्न लागेको भन्दै आउने चुनावमा एमालेले भेल सिर्जना गर्ने दावी गरे । ओलीले मुद्दा लडेर ल्याएको संसदले भत्ता खानेबाहेक केही काम गर्न नसकेको बताए ।

प्रतिक्रिया