केपी ओली मलाई हराउन बोरामा पैसा बोकेर इलाम जाँदै छन् : झलनाथ खनाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेपाली कांग्रेसका नेताहरु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोरामा पैसा लिएर आउने बताएका छन् । नेकपा एसको इलाम-काठमाडौं सम्पर्क मञ्चको भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै खनालले गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका एकथरी नेताहरुको बैठक बसेर आगामी चुनावमा एक नम्बरमा झलनाथ हराउने निर्णय गरेको आरोप लगाएका छन् ।
उनले ओली इलाम जान लागेको समेत बताए । खनालले भने, ‘कांग्रेस बोरामा पैसा बोकेर जान्छ । केही कांग्रेसको धाक त्यहि हो । तर प्रधानमन्त्री एकताबद्ध भएरै जानुपर्छ भन्दै हुनुहुन्छ । कांग्रेसभित्र दुइवटा धार छन्, नेतृत्वले जे निर्णय गर्छ त्यही हुन्छ । जहाँ सम्भव हुन्छ त्यहाँ मिल्ने, सम्भव नभए एक्लै जाने हाम्रो नीति हुन्छ । हारिन्छ भनेर डराउने कुरा छैन । अर्को चुनावमा पक्का जित्छौं,अहिले तयारी गरौं । कांग्रेसका केही नेता बसेर एक नम्बर एकमा झलनाथ खनाल हराउने भने । एमालेको अर्को बैठक गरेर कहाँबाट क्याम्पेन गर्ने भन्दा इलाम १ बाट । केपी ओली ६ गते जाँदैछन् ।’
उनले आफ्नो पार्टी भर्खरै ६ महिनाको भएको बताउँदै पैसा समेत नभएकाले निर्वाचन आचारसंहितालाई सही प्रयोग गरेर चुनावी मैदानमा उत्रिन लागेको बताए । नेता खनालले आफ्ना कार्यकर्ताहरूलाई निर्वाचन आचारसंहितालाई मानेर चुनावी मैदानमा उत्रिन समेत निर्देशन दिए ।
प्रतिक्रिया