निर्वाचनमा तालमेलका लागि प्रयास गर्छौँ, नभए एक्लै प्रतिस्पर्धा गर्छौँ : प्रचण्ड

नेपालखोज २०७८ फागुन २८ गते २१:३५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आसन्न निर्वाचनमा सकेसम्म गठबन्धनबीच सहकार्य गर्ने अन्यथा एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् ।

दिवंगत नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को नुवाकोटको पिपलटारमा निर्माण गरिएको पूर्णकदको शालिक अनावरण गर्दै अध्यक्ष प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनका पक्षमा देखिएको समस्या समाधानका लागि सत्तारुढ गठबन्धनबीच भएको सहकार्य आसन्न निर्वाचनमा पनि कायमै राख्न कोसिस गरिने बताए ।

नेपालको कम्युनिष्ट आन्दोलन र माओवादी पार्टीको संगठन निर्माणसहित सुदृढीकरणमा शालिन र शिष्ट नेता दिवाकरको निधनले ठूलो क्षति पुगेको र अहिले पनि अभाव खट्किरहेको अध्यक्ष प्रचण्डले बताए। ‘पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’का संरक्षकसमेत रहेका प्रचण्डले विदुर–५ पिपलटार उद्यानमा बनाइएको शालिक मात्र नभई उनको योगदानको शिक्षा ग्रहण गर्ने थलोका रूपमा विकास गर्न सुझाव दिए।

कार्यक्रममा नुवाकोटबाट प्रतिनिधित्व गर्दै केन्द्रीय राजनीतिमा रहेका नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महत, नेकां कार्यसम्पादन समितिका सदस्य डा रामशरण महत, अजुर्ननरसिंह केसी, नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ, केन्द्रीय सदस्य हितबहादुर तामाङ, नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रकाश लाहनीलगायतका वक्ताले दिवाकरलाई सामान्य जीवनशैली, देश र जनताका लागि इमान्दार व्यक्तित्व एवं टुटफुटभन्दा पनि एकताको पक्षमा लगनशील व्यक्तित्वको रूपमा उनको योगदानको चर्चा गरे।

तत्कालीन पार्टी उपाध्यक्षसमेत रहनुभएका दिवाकरको विसं २०७१ भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो । पूर्वमन्त्रीसमेत रहेका उनको स्मृतिमा नुवाकोटको पिपलटारमा स्थापना गरिएको पूर्णकदको शालिकको अनावरण गरिएसँगै उनको जीवन झल्कने वस्तुस्थिति, लेख रचना, पार्टीका लागि पुर्‍याएको योगदानलगायतका सामग्री समावेश गरेर पुस्तकालयसमेत स्थापना गर्ने र उनको अधुरो सपना पूरा गर्ने अभियानमा लाग्ने प्रतिष्ठान अध्यक्ष हितराज पाण्डेले बताए ।

दिवाकरको जन्म नुवाकोटको साविक तुप्चे गाविस–२ स्थित भित्रीनिटारमा विसं २०१० मा भएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक चरण विसं २०३६ को पञ्चायत सुधारको आन्दोलन, विसं २०४६ को बहुदल स्थापनाको आन्दोलन, विसं २०५२ देखिको एक दशकसम्म चलेको जनयुद्ध (सशस्त्र) आन्दोलन, विसं २०६२–६३ को दोस्रो जनआन्दोलनमा प्रत्यक्ष नेतृत्व गरेका दिवाकर पटक–पटक दमन, गिरफ्तार, यातना र चुनौतीमाझ पनि कहिल्यै नझुक्ने निडर क्रान्तिकारी योद्धाका रूपमा लिने गरिएको छ ।

प्रतिक्रिया