बुधबार, जेठ १६, २०८१

नेपाली विद्यार्थी जापान पढ्न जान थालेको १२० वर्ष पूरा !

नेपालखोज २०७८ फागुन २८ गते २२:००
साँकेतिक तस्बिर

काठमाडौं । सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ । राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले आफ्नो छोटो कार्यकालमा आठ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा अध्ययनको लागि जापान पठाउने निर्णय गरेका थिए।

त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरले ती विद्यार्थीलाई सन् १९०२ मार्च ८ मा भारत हुँदै जापान पठाएका थिए। आठ जना नेपाली विद्यार्थीलाई पढाइमा कुनै दुःख नहोस् भनेर उनीहरुको साथमा १७ जना सुसारे पनि जापान पठाइएको थियो । उनीहरुको गाइडका रुपमा स्वामी पुरानन्द गिरी पनि साथमा थिए।

यसरी पहिलोपटक जापानमा उच्च शिक्षा पढ्न जाने नेपाली विद्यार्थीहरुमा जंगनरसिंह राणा र भक्तबहादुर बस्न्यात हतियार इञ्जिनीयरिङ, देव नरसिंह राणा र बालनरसिंह रायमाझी खनिज, दीप नरसिंह राणा कृषि, हेमबहादुर राजभण्डारी मेकानिकल इञ्जिनिरिङ, रुद्रलाल सिंह व्यावहारिक रसायनशास्त्र र विचारमान सिंह सेरामिक्स (माटोको भाँडा, पछि रेशम खेती) बारे थिए ।

सन् १९६० मा जापानमा उच्च शिक्षा अध्ययन गरेर नेपाल फर्केका तत्कालीन ‘जुसान’ का पूर्वअध्यक्ष हरेन्द्र वरुवाले नेपाली विद्यार्थी जापान गएर पढ्न थालेको इतिहासबारे जानकारी गराएका थिए। त्यतिखेर नेपाली विद्यार्थीले जापानबाट उच्च शिक्षाको साथै जापानी कला संस्कृति र आफ्नो राष्ट्रियताको सम्मान गर्ने शैली पनि सिकेर फर्केको उनले उल्लेख गरे।

दोस्रो विश्वयुद्धपछि जापान आधुनिकीकरण भएको तर आफ्नो परम्परा र संस्कृतिलाई भने जीवित राख्न सफल भएको वरुवाले बताए।

प्रतिक्रिया