ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने तालिम सुरु

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको सहयोगमा १४३ औँ समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ । काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखामा सुरु भएको तालिमको उद्घाटन समारोहमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले फौजी संगठनमा विशेष महत्व राख्ने र व्यावसायिक तालिमले प्रशिक्षार्थीको वृद्दिविकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
ट्राफिक व्यवस्थापन कार्य दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको समस्यालाई पहिचान गरी त्यसको निराकरणका लागि ट्राफिक प्रहरीसँग भएका मानवीय तथा भौतिक स्रोतसाधनको उच्चतम् प्रयोगका लागि प्रशिक्षण फलदायी हुने जनाइएको छ ।
सडक प्रयोगकर्तालाई सरल र सहजरुपमा सेवा प्रदान गरी ट्राफिक व्यवस्थापन कार्यमा तालिमले सहजता ल्याउनुपर्नेमा उनले जोड दिए । तालिमलाई विशेष मौकाका रुपमा सदुपयोग गर्दै अझ बढी अध्ययनशील र मेहनती भई फौजी अनुशासन कायम राख्दै बढीभन्दा बढी ज्ञान आर्जन गर्ने थलोका रुपमा उपयोग गर्न पनि उनले प्रशिक्षार्थीहरूलाई आग्रह गरेका छन् ।
तालिम संयोजक प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्याअवधिको तालिममा प्रहरी हवल्दार दुई र प्रहरी जवान ७५ गरी कूल ७७ प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिए । तालिममा ट्राफिक व्यवस्थापनका विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ ।

प्रतिक्रिया