माधवसहित १४ सांसदविरुद्धको रिट १२औं पटक पेसी चढ्यो, फैसला कहिले ?

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको रिट १२औं पटक पेसी चढेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई सांसदबाट हटाउने सम्बन्धी रिट दायर गरेकोमा अझैसम्म अन्तिम फैसला आएको छैन ।
माधवसहित १४ जनाको सांसद पद, एकीकृत समाजवादी पार्टीको वैधानिकता र सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिट आइतबारको पेसीमा चढेको हो । एकीकृत समाजवादी पार्टीको वैधानिकता, माधवकुमार नेपाल लगायतको सांसद पद र सभामुखविरुद्धको रिटमा सुनुवाइका लागि आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलास तोकिएको छ । आइतबारको पेसी १२ औं पटकको पेसी हो ।
यसअघि ११ पटकसम्म चढेको पेसीमा पहिलोपटक कारण देखाऊ आदेश जारी भएको थियो भने दोस्रो पटकको आदेशमा सक्कल कागजात झिकाउने आदेश भएको थियो । त्यसपछिको अधिकांश पेसी हेर्न नभ्याउनेमा परेको थियो भने फागुन १ गतेको पेसी महान्यायाधिवक्ता कार्यालयबाट स्थगित भएको थियो ।
एमालेबाट फुटेर बनेको नेकपा एसमा माधव नेपालसहित १४ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरलाई स्वीकारेका थिए । गत वर्ष हस्ताक्षरकर्तामध्येका कतिपय एमाले सांसद भने ब्याक भएका थिए ।

प्रतिक्रिया