आइतबार, वैशाख २३, २०८१

जनयुद्धबारे लेखिएको प्रकाश सपुतको ‘पिर’ विवादमा

नेपालखोज २०७८ फागुन २९ गते १३:२९

काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ एकाएक चर्चामा आएको छ । शनिवार (हिजो) युट्युबमा गीत सार्वजनिक भएसगैँ सामाजिक सञ्जालमा यो गितले चर्चा पाएको छ ।

जनयुद्धको विरोध गरेको भन्दै माओवादीका एकथरी नेता कार्यकर्ताले आलोचना गरेका छन् । भने अर्काथरीले गीतले वास्तविक अवस्था झल्काएको भन्दै प्रशंसा गरेका छन् । १६ मिनेट लामो गीतले माओवादीको सशस्त्र द्वन्द्व र त्यसपछिको अवस्थालाई झल्काएको छ । समाज परिवर्तनको सपना लिएर युद्ध लडेकाहरुको सपना पूरा नभएको र उनीहरु बिचल्लीमा परेको कुरा गीतमा दर्साएको छ ।

सशस्त्र द्वन्द्वपछि सोझासाझाले सास्ती भोग्नुपरेको र टाठाबाठा नेताहरु सत्तामा पुगेर हालीमुहाली गरेको कथा गीतमा समेटिएको छ । तर सशस्त्र युद्धमा सहभागी महिला छापामारहरु देह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति माओवादी नेता कार्यकर्ताहरुले विरोध गरेका छन् । गीतको भिडियोमा प्रकाश सपुतसँगै नायिका सुरक्षा पन्तको अभिनय रहेको छ । आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा प्रकाश सपुत र सम्झना भण्डारीको स्वर छ ।

गीत सार्वजनिक भएसँगै माओवादी केन्द्रका नेताहरुले चर्काे स्वरमा विरोध गरेका छन् । उनीहरुले राम्रो पक्ष गीतमा नसमेटिएको तर कपोकल्पित कुराहरु गीतमा रहेको आरोप माओवादीका नेताहरुले लगाएका छन् । उनीहरुले गीत तत्काल हटाउनुपर्ने माग समेत गरेका छन् । जनयुद्धलाई गायकले सामान्यरुपमा लिएको माओवादीका नेताहरुको भनाइ छ ।

प्रतिक्रिया