बिहीबार, वैशाख २०, २०८१

सुनसरीमा बढ्यो निर्वाचन गतिविधि, कुन दलको अवस्था कस्तो ?

नेपालखोज २०७८ फागुन २९ गते १३:३६

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि सुनसरीमा प्रमुख राजनीतिक दलका नेताहरु निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् । स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्ष्मा पार्ने उद्देश्यका साथ उनीहरु भेटघाट तथा कार्यक्रममा संलग्न हुने क्रम बढ्दै गएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत दलले निर्वाचन लक्षित कार्यक्रमलाई तिव्र पारेका छन् । सरकारले स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गतेलाई तय गरेको छ । कांग्रेसले सुनसरीको १२ स्थानीय तहको १२४ वटै वडामा टोल समिति गठन गर्नुका साथै पालिकास्तरीय, प्रदेशसभास्तरीय र संघीय निर्वाचन क्षेत्रस्तरीय भेला सम्पन्न गरेको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए ।

त्यसैगरी एमालेले जिल्लाको विभिन्न स्थानीय तहमा चुनाव लक्षित कार्यक्रमलाई अगाडि बढाएको पार्टीका जिल्ला सचिव पर्शुराम यादवले बताए । यस्तै माओवादी केन्द्रले पार्टीको नगर तथा गाउँपालिकामा जनवर्गीय संगठनलाई तीव्रता दिनुका साथै नेता कार्यकर्तालाई गाउँगाउँमा खटाएको जिल्ला संयोजक योगेन्द्रप्रसाद मण्डलले जानकारी दिएका छन् । त्यसैगरी जनता (समाजवादी पार्टी) ले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी टोल कमिटी गठन गर्ने, प्रशिक्षण अभियान सञ्चालन गर्नेलगायत कार्य अगाडि बढाएको जिल्ला अध्यक्ष भगिरथ खत्वेले बताए ।

प्रतिक्रिया