बिहीबार, जेठ ३, २०८१

दार्चुलामा एकतर्फी भारतले तटबन्ध बनाउँदा सरकार चुप लागेर बस्यो : भीम रावल

नेपालखोज २०७८ फागुन २९ गते १४:०५

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकैबीच एमाले सांसद डा. भीम रावलले भने सभामुखसँग समय लिएर सदनको कारवाहीमा भाग लिएका छन् । दार्चुलाको महाकाली नदी बंगाबगरमा भारतले एकतर्फी रुपमा बनाएको तटबन्धबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा उनले दार्चुलाको बंगाबगरमा एकतर्फी रुपमा भारतले तटबन्ध बनाउने काम गरिरहेको र त्यसको बिरुद्धमा नेपालले कुनै आवाज नउठाएको भन्दै प्रश्न गरे । भारतले कानुन र छिमेकीसँगको मैत्री सम्बन्धनलाई उल्लंघन गर्दै नेपालको भू-भागमा मिचेको उल्लेख गरे ।

बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेपनि रावलले भने हात उठाएर बोल्न समय मागेका थिए । सभामुखले ५ मिनेटको समय दिएपछि रावलले महाकाली पारी नेपाली भूमीमा भारतीय पक्षले डोजर लगाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । रावलले भने, ‘महाकाली पारी नेपाली भूमिलाई समस्यामा पार्नेगरी भारतले डोजर लगाएको छ । यसमा गृहमन्त्री र परराष्ट्रमन्त्रीले संसदमाफर्त जनतालाई जानकारी गराउनुपर्यो । राष्ट्रियताको विषयमा सरकार गम्भीर हुन नसक्दा हामीलाई हाम्रो सरकारप्रति लज्जाबोध भइरहेको छ ।’

उनले एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधानहरु संशोधन नगरि पारित गरिएको भन्दै नेपालको स्वतन्त्र परराष्ट्र नीतिमाथि प्रश्न उठेको आरोप समेत लगाए । उनले आफूले उठान गरेका विषयहरुमा संसदमा आएर जवाफ दिन सरकारलाई निर्देशन दिन मागसमेत गरेका छन् । रावलले आफ्नै पार्टीको नीतिविपरीत संसदमा समय लिएर बोलेका हुन् । यसअघि पनि एमालेले अवरोध जारी राख्दा रावल एमसीसीमाथिको छलफलमा सहभागि भएका थिए ।

भारतले एकतर्फी रुपमा डोजर चलाउँदा सरकारले नबोल्नु दुःखद रहेको बताउँदै उनले त्यसबारेमा नेपाल सरकारको तर्फबाट गृहमन्त्री र परराष्ट्रमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताए । उनले नेपालले चुच्चे नक्सा जारी भएपछि भारतसँग कहिले वार्ता भयो ? भन्ने प्रश्न गरे । भारतीय प्रधानमन्त्रीले लिपुलेकसम्म बाटो बनाउनेलाई धन्यवाद दिँदा नेपाल सरकारले बिरोध नगरेकोमा विरोध गरे । उनले बंगाबगरमा भारतले गरेको हस्तक्षेपलाई रोक्न सभामुखको तर्फबाट समेत सरकारलाई निर्देशन दिन आग्रह गरे ।

प्रतिक्रिया