युवा पत्रकारिता पुरस्कारबाट चार सञ्चारकर्मी सम्मानित

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले युवा पत्रकारिता पुरस्कारबाट चार सञ्चारकर्मीहरुलाई सम्मान गरेको छ । मन्त्रालयले आज राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कार वितरण कार्यक्रमका बिच युवाको क्षेत्रमा कलम चलाउने चार सञ्चारकर्मीहरुलाई नगद पचास हजार रुपैँया पुरस्कार सहित सम्मान गरेको हो ।
सम्मानित हुने सञ्चारकर्मीहरुमा सञ्चारिका समूहकी बसन्ती बास्तोला, सुदूरआज डटकमका पूर्णबहादुर खड्का, खबरकुञ्ज डटकमका सिताराम ओझा र नेपाल प्रेस डटकमका केशवबहादुर भुल रहेका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले सम्मानित सञ्चारकर्मीहरुलाई पुरस्कार राशिको चेक र सम्मानपत्र प्रदान गरे ।
कार्यक्रममा बोल्दै मन्त्री गहतराजले सम्मानित संचारकर्मीहरुको समाज र देशप्रतिको दायित्व बढेको बताए । राज्यले गरेको सम्मानलाई बचाइ राख्ने चुनौती थपिएको भन्दै उनले आगामी दिनमा थप युवाहरुको पक्षमा उदाहरणीय काम सञ्चारकर्मीहरुबाट हुनेमा विश्वास व्यक्त गरे ।
सञ्चारकर्मी केशवबहादुर भुलले मन्त्रालयले दिएको सम्मानबाट आफुहरुलाई थप हौसला मिलेको बताएका छने । उनले युवाहरुको क्षेत्रमा अझै धेरै लेख्नका लागि चुनौती थपिएको पनि बताए । मन्त्रालयलाई सम्मानका लागि सही व्यक्ति छानेको आभाष दिलाउने गरी आगामी दिनमा पनि युवाहरुको क्षेत्रमा लेख्ने उनले बताए ।
त्यसैगरी मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान २०७८ बाट १२ जना युवाहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा हिमकुमारी उपाध्याय, धिर्जबहादुर उपरकोटी, मंगल बहादुर विष्ट, सन्तोष बोटे, कुशलचन्द्र अधिकारी र कुसुम केसी रहेका छन् । त्यस्तै, सुमित्रा घिमिरे, राजन गौतम, राज कुमारी पौडेल, राजाराम गुरुङ, अशोक शर्मा भट्ट र खिमप्रसाद पन्थी सम्मानित भएका छन् ।
प्रतिक्रिया