सभामुखले भने- एमालेले गर्दा राष्ट्रका समस्यामा सांसदहरुले छलफल गर्न पाएनन्

नेपालखोज २०७८ फागुन २९ गते १४:५२

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न सांसदहरुलाई अनुरोध गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदलाई संसद् बैठक अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा सांसदहरुले छलफल गर्न नपाएकोप्रति ध्यानाकर्षण गराउँदै आग्रह गरे ।

उनले विचाराधीन विधेयकहरुलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु सबैको दायित्व भएको बताए ।सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरुले मलाई पटक–पटक ध्यानाकर्षण गराउनुभएको छ । संसद्लाई प्रभावकारी बनाउन आम रुपमा प्रश्न उठिरहेको छ ।’

सभामा विचाराधीन रहेका ४२ विधेयकलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्या जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने, कानुन निर्माण एवं निगरानी गर्ने कार्यसमेत संसद्मा जारी अवरोधका कारण प्रभावित हुन पुगेको छ ।

एमालेले संसद्को चालु अधिवेशन सुरु भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदको सभामुखले सूचना टाँस नगरेको भन्दै संसद् बैठक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया