मंगलबार, जेठ १५, २०८१

जनताको सबैभन्दा नजिकको सरकार ‘स्थानीय तह’ : प्रधानमन्त्री देउवा

नेपालखोज २०७८ फागुन २९ गते १६:४६

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको बताएका छन् । नेपाल नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको समेत जनाए ।

देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ भन्ने व्यवस्था गर्न कुनै आपत्ति नरहेको समेत बताए । देउवाले नगरपालिका प्रमुखहरुको सुझावका आधारमा स्थानीय तहलाई स्थानीय सरकार बनाउन समस्या नरहेको बताएका हुन् । संविधानले स्थानीय तह भन्दै आएकोमा स्थानीय सरकार बनाउन दलीय सहमति भने जुट्नुपर्ने देउवाको भनाइ छ । उनले भने, ‘नामले भन्दा कामले चिनिने हो । नगरपालिकाहरुले नमूनाका रुपमा स्थापित हुनेगरी काम गर्नुपर्छ । विकास र कानून निर्माणमा स्थानीय सहभागितालाई बढावा दिनुपर्छ ।’

संघले नगरपालिकाको क्षमता अभिवृद्धिमा योगदान दिएको उनले स्पष्ट पारे । उनले भने, ‘स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला हो । त्यसैले स्थानीय तहलाई विभिन्न अधिकार र जिम्मेवारी प्रदान गरिएको छ । नागरिकको सबैभन्दा नजिकको सरकार हो स्थानीय तह । त्यसैले नगरपालिकाले जनताको मन जित्ने गरी काम गर्न आवश्यक छ ।’

जनतालाई सुशासनको प्रत्याभूति गराउन उनले सबै नगरपालिकालाई आग्रह गरेका थिए । देउवाले भने, ‘अस्तव्यस्त सहरीकरणले गर्दा सहर कुरुप बन्दै गएको छ । वातावरण अस्वच्छ भएको छ । वातावरणमैत्री विकासको आवश्यकता छ । आफ्नो नगरपालिकालाई नमुन बनाउने गरी योजना बनाउन म अनुरोध गर्दछु ।’

प्रतिक्रिया