माओवादी सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी लागे : प्रचण्ड

नेपालखोज २०७८ फागुन २९ गते १७:४६

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिहरु नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न लागिपरेको बताएका छन् । विराटनगरमा आयोजित पार्टीको प्रदेश-१ स्तरीय प्रशिक्षण कार्यक्रममा आज उनले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको दाबी गरे ।

विदेशी षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने उनको भनाइ छ । उनले भने, ‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीहरुलाई सिध्याउन र दुई दलीय सिष्टम स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ । चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन । नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धी हार्छ, समावेशी, समानुपातिक लोकतन्त्र हार्छ ।’

माओवादीलाई घेराबन्दी गरेर कमजोर पार्ने कोसिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै उनले त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘निर्वाचनको ब्याटललाई सामान्य रुपमा नलिनुहोला ।’

प्रचण्डले समावेशी लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफूहरुको निरन्तरको निष्ठा रहेकाले त्यसलाई उल्ट्याउने षड्यन्त्र असफल पार्न परिस्थितिले जे माग गर्छ त्यही गर्न तत्पर रहेको उल्लेख गरे । प्रचण्डले पहिलो संविधानसभा निर्वाचनपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूबाट गल्ती भएको कार्यकर्तामाझ स्वीकार गरे । उनले भने, ‘ठूलो पार्टीका रुपमा स्थापित भएपछि हाम्रो खुट्टा भुइँमा भएन । गिरिजाप्रसाद कोइराला विचरा, त्यो बुढो मान्छे । जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भएको हो । उहाँले राष्ट्रपति बन्न खोज्दा दिइएन । खुरुक्क गिरिजाप्रसादलाई राष्ट्रपति दिन पाएको भए पाँचै वर्ष हाम्रो सरकार हुन्थ्यो । अहिले फर्केर हेर्दा अनौठो लाग्छ ।’

रुक्मांगद कटवाललाई प्रधानसेनापतिबाट हटाउन डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलले अनावश्यक दबाब दिएको प्रचण्डले बताए । तीन महिनामा कार्यकाल सकेर घर जान लागेका कटवाललाई चलाउँदा माओवादीले सरकारको नेतृत्वसहित धेरै विषय गुमाएको स्मरण उनले गरे । उनले भने, ‘दायाँ र बायाँ बस्नेहरु ठोक भन्छन् । म अली उदार मान्छे । दायाँ बाबुराम छन् बायाँ बादल छन् । बुढो क्रान्तिकारी भएर तीन महिनापछि जान लागेको रुक्मांगद कटलाललाई हटाउँदा सरकार, राष्ट्रपति सबै गयो ।’

प्रचण्डले ०७४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा र मधेस केन्द्रित दलका नेता बारम्बार आफ्नो निवास खुमलटार आएर पाँच वर्षका लागि एकलौटी प्रधानमन्त्री बन्न आग्रह गर्दासमेत बामगठबन्धनको भावनाअनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाएको बताए । तर, चार वर्षमै आफूले पटकपटक बुढानिलकण्ठ गएर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गर्नुपर्ने अवस्था आउनुलाई उनले विचित्रताको संज्ञा दिए ।

प्रतिक्रिया