मंगलबार, जेठ १, २०८१

बजेट अभावमा संग्रहालयको काम अलपत्र

नेपालखोज २०७८ फागुन ३० गते १२:०७

काठमाडौं । चितवनको सबैभन्दा पुरानो मानिएको बखान सहकारी संस्था लिमिटेडले स्थापना गर्न लागेको राष्ट्रिय सहकारी संग्रहालय बजेट अभावमा अलपत्र परेको छ । चितवनको भरतपुर–१९ स्थित शारदानगरमा स्थापना गर्न लागिएको संग्रहालय बजेट अभाव भएपछि अलपत्र परेको सहकारीका अध्यक्ष रेशमराज गुरुङले बताए ।

वि .सं २०७४ को प्रतिनिधिसभा निर्वाचन अघि नेपाल सरकारबाट पाँच करोड रुपैयाँ निकासा भएर स्थापना गर्न लागिएको संग्रहालयको काम अधुरै रहेको छ । पाँच करोड रुपैयाँमा संग्रहालयको ठूलो बैठक कक्ष, साना बैठक कक्ष, विशिष्ठ व्यक्तिका लागि बस्ने कोठा, कार्यालय कक्ष र अन्य केही कोठा निर्माण गरिए पनि थप बजेट निकासा नहुँदा संग्रहालय निर्माणले मूर्तरुप लिन नसकेको उनले गुनासो पोखे । सरकारले प्रदान गरेको बजेटबाट करिब आधा काम सकिए पनि थप बजेट नआउँदा संग्रहालय निर्माणको काम अलपत्र परेको अध्यक्ष गुरुङले बताए ।

संग्रहालय निर्माणका लागि थप पाँच करोड रुपैयाँ लाग्ने बताइएको छ । उक्त संग्रहालयमा फर्निचर, बिजुली बत्ती, भवनको प्लास्टरसँगै रङरोगनलगायत पर्खाल निर्माणको काम बाँकी रहेको बताए । देशका ७७ वटै जिल्लाको चिनारी झल्किनेगरी राष्ट्रिय सहकारी संग्रहालय निर्माणको काम अगाडि बढाइएको उनको भनाइ रहेको छ । सबै जिल्लाका कृषिलाई प्राथमिकता दिएर संग्रहालय निर्माणको काम अगाडि बढाइने सहकारीको योजना रहेको छ ।

प्रतिक्रिया