बुधबार, जेठ १६, २०८१

‘पिरमा राजनीतिक पूर्वाग्रह छैन, एक सर्जकलाई हतोत्साही नबनाउनुहोस्’

प्रकाश सपुत २०७८ फागुन ३० गते १३:२४

नमस्कार !
‘पिर’ प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै-धेरै धन्यबाद ! सबैको अपेक्षाअनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ । सधैं कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ । त्यसैले मेरो नयाँ गीत ‘पिर’का कारण केही दर्शक-स्रोतालाई मर्का परेको मैले महसुस गरेको छु !

गीतले भन्ने चाहेको कुरा यहाँलाई अवगत भइसकेको छ । एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरुको उपेक्षा गर्न हुन्न भन्ने मलाई महसुस भएको छ । मैले सबै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु । यतिबेला आफ्नै सिर्जना तपाईंहरुका नजरबाट नियालिरहेको छु । मैले गल्ती गरेको हो कि ? तपाईंहरु (केही) ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दै छु ।
‘पिर’बाट मैले युद्धकै जग/बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हो । समानताका लागि एकसाथ लडेका कमरेडहरु बीचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हो । एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोसिस गरेको हो । मलाई लागेको- यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरुमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरुमा त्यसबारे लेखिँदै/पढिँदै आएको होइन र ? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र ?
जसरी यसअघिका गीतहरु ‘बोल माया’, ‘दोहोरी ब्याटल’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’, ‘मेरो पनि हैन र यो देश’, ‘कुरा बुझ्न पर्छ’ गीतहरुमा कथा बुन्थें, पात्र बनाउथें, टुक्का टिप्थें, लय हाल्थें र रेकर्ड/छायांकन गर्थें । यसमा पनि त्यही प्रक्रिया छ ।

गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु । ६ वर्षअगाडि करिब चार वर्ष दोहोरी साँझमा काम गर्दा गाउने/बजाउने/ पकाउने/ पस्कने मध्यका थुप्रै सहकर्मीहरु पूर्व लडाकु थिए । उनीहरु चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ । संयोगले अहिले निस्क्यो । यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पष्ट पार्न चाहन्छु । प्रतीकात्मक रुपमा दृष्यहरु निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ‘पिर’ । यो बिचमा मैले यस्ता पात्रहरुको अवस्था, स्वभाव, सोचको अध्ययन गरें । केही पात्रहरुसँग भेटेर कुराकानी पनि गरें । केही पात्रहरु पढें । आममानिसका भोगाइ र संवेदनाहरु बुनें र भिडियो बनाएँ । मेरो पेसा र पहिचान यही हो ।

एउटै गीतमा सबै दृष्टिकोण अटाउन सकिँदैन । पूरै बुझाइ आउँदैन । त्यसैले अर्को गीतमा अर्को कथा भन्नु त छँदै छ, त्यसमा अर्कै दृष्टिकोण समेटौंला । अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो ।

प्रतीकात्मक रुपमा राखिएका यस्ता दृष्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु । यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु । माफी मागेको छु । अब यस्ता पात्रहरु छन् वा छैनन् भन्नेतर्फ नजाउँ । त्यसो हो भने मुना/मदन छन् कि छैनन् ? सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने ? सुयोगविर र सकम्बरी कहाँ होलान् ? कहाँ होला घु्म्ने मेचमाथि बसेको अन्धो मान्छे ? खैर, भिडियोलाई फेरि एकपटक अक्षरश: हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन । बरु भएभरका परिवर्तनको जस दिइएको छ । भिडियोमा देखिएका पात्रहरु जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले यति धेरै फाइदा उठाएको छु भने उनीहरुको अवस्थाको गीत किन नगाउने भन्ने हो । अब भिडियो नै हटाउँदा पो युद्ध/आन्दोलन/गणतन्त्र/स्वतन्त्रताको अपमान हुने हो कि ? म अत्यन्त अन्तरमुखी र शान्त मनुवा हुँ । म सर्जक हुँ, सिर्जना नै मेरो विचार हो ! आवाज हो । विवाद मेरो स्वभाव र ल्याकतको कुरा होइन ! मैले कसैसँग पनि यो विषयमा सहयोग/सल्लाह लिएको छैन ! त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं तर यसलाई राजनीतीकरण नगर्न सबैसँग अनुरोध गर्दछु !

मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु ! मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ! कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष/विपक्षमा एकोहोरो भइन्छ ! नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ ! विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ । गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समीक्षा गरौं ! तर गीतले उठाउन खोजेको मुख्य विषयहरुलाई एकपटक इमानदार भएर विचार गरौं । समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ ! त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो । भिडियो हेरिरहँदा जुन-जुन दृष्यले सम्बन्धित साथीहरुलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यस प्रति म फेरि पनि क्षमा चाहन्छु ! यसलाई कलाको दृष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु ! कसैले नियतवश उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौं ! न अल्झाउँ ! किनकि समाजमा टिप्नुपर्ने कैयौं कथा छन् ! गाउनुपर्ने कैयौं, गीत छन् ! र तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरु छन् । प्रश्नहरुलाई निरुत्साहित नगरिदिनुहोस् ।धन्यवाद
प्रकाश सपुत ।
२०७८ फागुन ३०

प्रतिक्रिया