झापा गोल्डकप फाइनलमा चारपटकको उपविजेता झापा र तीनपटकको विजेता आर्मी भिड्दै

काठमाडाैं । मोफसलको चर्चित प्रतियोगिताका रुपमा रहेको झापा गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र घरेलु टोली झापा-११ प्रतिस्पर्धा गर्दै छन् । ए डिभिजनको बलियो प्रत्यासी विभागिय आर्मी घरेलु दर्शकसामु प्रतिस्पर्धामा उत्रिँदा जारी सिजनमा मोफसलको पहिलो उपाधिको प्रतिक्षामा रहेको छ।
विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा आर्मीविरुद्व घरेलु टोली झापापनि बलियो आत्माविश्वासका साथमा उपाधि घरमा नै राख्ने प्रयासमा हुने छ। प्रतियोगितामा झापाले सेमिफाइनलमा संकटालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने आर्मीले सातदोबाटोको चुनौती पन्छाएको थियो । आइतबार भएको प्रि म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्न प्रयास गर्ने बताएका थिए।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे। उनले झापामा कलेक्टिभ खेलाडी रहेका कारणम पनि जित निकाल्न सहज हुने बताए । झापा–११ का प्रशिक्षक सन्तोष गुरुङले झापामा स्टार खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए । उनले चार पटकसम्म झापाले उपविजेतामा चित्त बुझाएकाले यसपटक जित निकाल्ने विश्वास ब्यक्त गरे ।
यसअघि तीनपटक आर्मीले झापा गोल्डकपको उपाधि जितेको थियो । आर्मीले ३ वटै संस्करणमा झापाको चुनौती पन्छाउँदै उपाधि जितेकाले यो पटक भने झापा आर्मी विरुद्व बदला लिंदै निरन्तर आर्मीसँगको असफल्ता अन्त गर्न चाहन्छ । तीन पटक आर्मीसँग हारेको झापा एकपटक मनाङसँग पराजित भएको फेरि यो पटक आर्मीसँगनै फाइनलमा प्रतिस्पर्धा गर्न लागेको छ।
लगातार फाइनल पुगेरपनि चारपटक उपविजेतामा चित्त बुझाएको झापा आफ्नो उपविजेता छवि सुधार गर्दै अब विजेताको रुपमा दहरिने प्रयास गर्ने छ । प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने छन्। त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन्। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।
झापा गोल्डकपले यसपटक झापा–११ का खेलाडी विशाल राई ‘ए’लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिने भएको छ। उनले एउटा मोटरसाइकल पाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया