आइतबार, जेठ ६, २०८१

हुम्लामा स्थानीय चुनावको तयारी तीव्र

नेपालखोज २०७८ फागुन ३० गते १५:२७

काठमाडौं । वैशाख ३० गते घोषणा गरिएको स्थानीय तहको निर्वाचनका लागि हुम्लाका विभिन्न राजनीतिक दलले गाउँ केन्द्रित कार्यक्रम सुरु गरेको छ । जिल्लाका मुख्य राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तह लक्षित कार्यक्रम सुरु गरेको छ ।

दलले जिल्लाको उत्तरी नाम्खा गाउँपालिका बाहेक अन्य ६ स्थानीय तहमा रहेका प्रत्येक वडा तथा पालिकास्तरमा आमसभा, कार्यकर्ता भेटघाट, संगठन विस्तार, घरदैलो अभियान लगायतका कार्यक्रम सञ्चालन गरिरहेका छन् । नेपाली कांंग्रेस हुम्ला आइतबारदेखि घरघर जाउँ नेपाली कांग्रेस जिताउँ अभियानका साथ घरदैलो कार्यक्रममा गाउँ केन्द्रित भएको छ ।

नेकपा एमाले हुम्लाले दक्षिणका ताँजकोट, अदानचुली गाउँपालिकामा वृहत आमसभा सम्पन्न गरेर चंगेली गाउँपालिकामा गएको छ । एमालेले सातवटै गाउँपालिकामा वृहत आमसभा सञ्चालन गर्ने भएको छ । भने हाल दुई पालिकामा यो कार्यक्रम सम्पन्न गरेको छ । यस्तै नेकपा माओवादी केन्द्र हुम्लाले जसपासँग समायोजनदेखि जिल्लाका विभिन्न पालिकामा संगठन विस्तार तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्र पारिरहेको छ ।

यसैगरी एकीकृत समाजवादी पार्टीले केही दिन अघिदेखि दक्षिणभेगमा रहेका गाउँपालिकामा चुनाव लक्षित आफ्नो कार्यक्रम सञ्चालन गरिरहेको छ । हुम्लाका सबै राजनीतिक दलले कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा जुट्न आग्रहसमेत गर्दै आइरहेका छन् । अन्य समय सहर केन्द्रित हुने जिल्लाका नेता तथा जनप्रतिनिधि स्थानीय तह चुनावको मिति तय भएसँगै यतिबेला चुनाव जित्न जनतासँग भोट माग्नमा व्यस्त रहेका छन् ।

प्रतिक्रिया