मंगलबार, जेठ १, २०८१

बैंकिङ कसुरमा फरार एक जना पक्राउ

नेपालखोज २०७८ फागुन ३० गते १६:४४

काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज अदालतमा पेस गरेको छ । ललितपुर महानगरपालिका–६ घर भई हाल भक्तपुरको कमलविनायक बस्दै आएकी राधा माताङीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले पाँच दिन कैद र १९ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

सानिमा बैंकको नारी बचत खातामा पर्याप्त रकम नरहेको जान्दाजान्दै भुक्तानीका लागि माताङीले पीडितलाई चेक काटेर दिएकोमा सो नसाटिएपछि बैंकिङ कसुर गरेको ठहर भएको थियो । विसं २०७७ मा यसरी चेक दिएको भनी परेको मुद्दामा उच्च अदालत पाटनले गत पुस २० गते फैसला गर्दै बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम १९ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैदको फैसला गरेको थियो ।

फैसलापछि माताङी फरार थिइन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउ गर्न परिचालित टोलीले उनलाई आज भक्तपुरबाट पक्राउ गरेको हो । माताङीलाई आजै फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले बताए ।

प्रतिक्रिया