एमालेले निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न पार्टी केन्द्रिय कमिटीको बैठक बोलाउने तयारी गरेको छ । सोमबार बसेको पार्टी केन्द्रिय कार्यालय बैठकले केन्द्रिय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको हो ।
आवश्यक एजेन्डाहरु तय गर्न भोली मंगलबार अपरान्ह ३ बजे पार्टी केन्द्रिय सचिवालयको बैठक बोलाइएको पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनले पार्टीको सिंगो पंक्तिलाई निर्वाचन केन्द्रित गराउने काममा लागि पार्टी पोलिटव्यूरो बैठक पनि छिट्टै बोलाउने विषयमा पनि केन्द्रिय कार्यालय बैठकमा छलफल गरिएको बताए । प्रचार विभाग उपप्रमुख रिजालले भने, ‘भोली ३ बजे आयोजना हुने पार्टी केन्द्रिय सचिवालयको बैठकका एजेन्डाहरुको बारेमा छलफल भएको छ । हामी अहिले निर्वाचनको तयारीमा छौं । सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमहरु सम्पन्न गरेका छौं । र, छिट्टै हाम्रो पार्टीको अरु तहको बैठकहरु पनि आयोजना गरेर सम्पूर्ण पार्टी पंक्तिलाई निर्वाचनमा केन्द्रित गर्नेगरी कार्ययोजना बनाउन गईरहेका छौं । त्यहीँ कार्ययोजनाको सन्दर्भसहित आज केन्द्रिय कार्यालय बैठकमा छलफल भएको छ । र, छिट्टै आयोजना हुने पार्टीको पोलिटव्यूरो, केन्द्रिय कमिटी बैठकको सन्दर्भमा पनि आज छलफल भएको छ ।’
नेकपा एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ ।

प्रतिक्रिया