गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न पाँच वायुसेवा कम्पनी इच्छुक

नेपालखोज २०७८ चैत १ गते १३:११

काठमाडौं । हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडो भन्दा चाँडो उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै आउँदो जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान-अवतरणको तयारी भएको बताइएको छ ।

उडानका लागि कुवेतको जजिरा, श्रीलंकाको श्रीलंकन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल वायुसेवा कम्पनी सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उक्त विमानस्थल सञ्चालनमा आएपछि धार्मिक, पर्यटन सँगै खाडीमुलुकमा रोजगारीका लागि आउजाउ गर्ने यात्रुलाई थप सहज हुने भएकाले पनि तोकिएकै मितिमा विमानस्थल सञ्चालनमा ल्याउन मन्त्री आले लागि परेका छन् ।

अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि विभिन्न कम्पनी सम्पर्कमा आएसँगै थप अध्ययनको कार्य सकेर उडान अवतरणका लागि अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीपकुमार अधिकारीले बताए । उनले भने, ‘भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरणका लागि केही हवाइ कम्पनी सम्पर्कमा आएका छन् । हामीले अध्ययन गरेर अनुमति दिने तयारी गरिरहेका छौँ ।’ व्यावसायिक उडानका लागि केही दिन पहिले नागरिक उड्डयन प्राधिकरणले एरोनोटिकल पब्लिकेसन इन्फर्मेसन समेत जारी गरिसकेको छ । उक्त विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ, कार्गो, क्याट्रिङ लगायतको व्यवस्थापन गर्न बाँकी रहेकाले उक्त काम सकिने बित्तिकै उडान–अवतरणका लागि अनुमति दिइने प्राधिकरणले जनाएको छ ।

यसैगरी आवश्यक जनशक्तिको अभाव रहेका कारण केही काममा समस्या उत्पन्न भइरहेको उक्त विमानस्थलमा प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिएका छन् । उनका अनुसार उक्त विमानस्थलका लागि कूल १५१ जनशक्तिको दरबन्दी रहे पनि हाल ३६ जना मात्र रहेका छन् । विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक पर्ने जनशक्ति पठाउनसमेत मन्त्री आलेले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । अहिले उड्डयन प्राधिकरणको टोली सोही कामका लागि केन्द्रित भएको महानिर्देशक अधिकारीले बताए । उनका अनुसार विमानस्थलको सुरक्षालगायत अन्य कामका लागि नेपाल प्रहरीका कम्तीमा पनि १७० जना र नेपाली सेनाका १७० दरबन्दी रहेको छ ।

यसैगरी मेट्रोलोजी विभागका कर्मचारी परिचालन निश्चित भइसकेको र भन्सार र अध्यागमनका प्राविधिक टोलीले निरीक्षण गरिसकेका छन् । विमानस्थलमा कम्बोडिया, म्यानमार, श्रीलंकालगायत विभिन्न बौद्ध धर्मावलम्बी भएका मुलुकसँगै श्रमिक गन्तव्यमा उडान सेवा दिँदै आएका वायुसेवा कम्पनीको सम्भावना उल्लेख्य रहेको प्राधिकरणले जनाएको छ । उक्त विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको जिम्मा पाएको नेपाल वायुसेवा निगमले छिट्टै आफ्नो कामको तयारी गर्ने वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए ।

मन्त्री आलेले नेपालमा पर्यटन प्रवद्र्धन तथा धेरैभन्दा धेरै पर्यटक नेपाल भित्र्याउनका लागि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन जरुरी रहेको बताए । सरकारले आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको अवसर पारेर सोही दिन उक्त विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया