सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप महिला भलिबलः सिटिएल र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टबीच सहकार्य

काठमाडौं । सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता चैत १० देखि १४ गते सम्म हुने भएको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्रीकपको यो आठौं संस्करणका लागि तयारी भएरहेको छ ।
अन्तर्राष्ट्रिय खेलकुद पोशाक ब्रान्ड युक्यानको नेपालस्थित आधिकारिक बिक्रेता सिटिएल र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टबीच प्रतियोगिताका लागि सहकार्य भएको छ । सिटिएलका प्रबन्धनिर्देशक राजन महर्जन र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेटिङ अफिसर सौगातविक्रम शाहबीच सम्झौता भएको छ ।
सिटिएलले प्रतियोगिताका लागि आवश्यक पोशाक उपलब्ध गराउनेछ । घरेलु टिम लुम्बिनी युनाइटेडका लागि पोशाक उपलब्ध गराउनुका साथै आयोजक समिति, रेफ्री अफिसियल र स्वयंसेवकका लागि आवश्यक टिसर्ट प्रदान गर्नेछ । क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेटिङ अफिसर सौगात विक्रम शाहले अन्तर्राष्ट्रिय ब्राण्ड युक्यानलाई नेपालगन्जमा भित्राउन पाउनु उपलब्धिमुलक रहेको बताए ।
खेलाडीको हस्पिटालिटीदेखि पोशाकसम्म स्तर वृद्धि गर्दै जाने सोंच अनुरुप यसअघि नै पाँच तारे होटल सेन्ट्रल प्लाजासँग खेलाडीको आवास तथा भोजनका लागि सम्झौता भइसकेको छ । नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप भलिबल नेपालगन्ज रंगशालाको कभर्ड हलमा हुनेछ ।
प्रधानमन्त्रीकपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम कोलकाता इण्डिया, पाँचौमा एपीएफ, छैठौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेको थियो ।
प्रतिक्रिया