महिला हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले जलवायु परिवर्तन र कोरोना महामारीका कारण विश्वमा महिलामाथि विभिन्न प्रकारका हिंसा बढेको बताएका छन् । राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासंघ (डब्लुएनएफ) र ‘एभ्री बुमन’ नामक संस्थाद्वारा संयुक्त रुपमा आज आयोजित ‘दक्षिण एसियाली महिला सम्मेलन’ को उद्घाटन गर्दै उनले महामारीको समयमा अधिकांश महिला आफन्तबाटै घरेलु हिसाको सिकार हुनुपरेको बताए ।
उनले भने, ‘विश्वव्यापी रुपमा पछिल्लो समय बढ्दै गएको महिला हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक छ । हालको अवस्थामा समाजमा महिलाहरुले शोषण र हिंसा भोग्नु दुःखद् विषय हो ।’ पुनले नेपालको संविधानले सुनिश्चित गरेको महिला तथा बालबालिका सम्बन्धी हक अधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिदै महिला सशक्तीकरणको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु सबै सरोकारवालाको चासोको विषय हुनुपर्ने बताए । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताए । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले पछिल्लो समय अयोगमा सबैभन्दा बढी महिला घरेलु हिंसाका घटनाको उजुरी आउने गरेको जानकारी दिएका छन् ।
दक्षिण एसियाकी प्रसिद्ध लेखक एवं भारतीय महिला अधिकारकर्मी मीरा खन्नाले सम्मेलन दक्षिण एसियाली मुलुकमा महिला हिंसा न्यूनीकरण गर्न बनेका कानुनको कार्यान्वयनतर्फ सबैले ध्यान दिनुपर्ने बताए । भारतीय मानवअधिकारकर्मी एवं वातावरणविद् डा.बन्दना शिवाले आर्थिक रुपले महिला सशक्त नभएसम्म हिंसाका घटनामा कमी आउने बताए । महिला हिंसाविरुद्धको आवाजलाई विश्वव्यापीरूपमा उठाउँदै हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन दुईदिने दक्षिण एसियाली सम्मेलन सुरु भएको हो । सम्मेलनमा महिला अधिकारकर्मी, लेखक, मानवअधिकारकर्मी गरी विभिन्न देशका १०० जना सहभागी रहेका छन् ।
प्रतिक्रिया