एमसीसीको पक्षमा बोल्न अधिकारकर्मीलाई गृहमन्त्री खाँणको आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई आग्रह गरेका छन् । मन्त्री खाँणले उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसदबाट पारित गराएको उल्लेख गर्दै त्यसको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई आग्रह गरे ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रेस फ्रिडम, मानव अधिकारको रक्षा र निर्वाचनको माध्यमबाट सरकार बनाउने मुलुकले मात्रै एमसीसी परियोजना प्रस्ताव गर्न पाउने भएकाले त्यसले देश र जनताको हित नहुने भन्ने प्रश्न नउठ्ने तर्क गरे । एमसीसी परियोजना घरघरमा विजुली पुर्याउनका लागि ट्रान्समिसन लाईन बनाउने परियोजना भएको भन्दै गृहमन्त्री खाँणले त्यसमा कसरी राष्ट्रघात भयो भनि प्रश्न गरेका छन् ।
उनले केहीले एमसीसी आए अमेरिकी सेना र गोलाबारुद्ध आउने आशंका गरेकोमा पनि आपत्ति जनाए । विजुलीको ट्रान्समिसन लाईन बनाउने परियोजनाबाट अमेरिकी सेना र गोलाबारुद्ध नआउने उनको भनाई थियो । गृहमन्त्री खाँणले भने, ‘सबैको सहमतीबाटै एमसीसी प्रस्ताव पास भएको छ । एमसीसीबारे धेरै नै प्रतिक्रियाहरु आयो । संसदबाट पास गर्नु भन्दा अगाडि आयो, धेरै प्रतिक्रियाहरु ।’ त्यस्तै गृहमन्त्री खाँणले उपभोक्ता हितलाई ध्यानमा राखेर सरकारले विजुलीको खपत बढाउने र पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्दै लैजाने नीति लिएको पनि स्पष्ट पारे ।

प्रतिक्रिया