शनिबार, असार २१, २०८२

त्रिविलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रका रुपमा विकास गरिने

नेपालखोज २०७८ चैत १ गते १८:३७

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रुपमा विकास गर्ने भएको छ । उच्च शिक्षामा रहँदै आएको परिक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाई प्रक्रिया र विश्वविद्यालयको भौतिक संरचनालाई समेत परिमार्जन गर्ने गरी विश्वविद्यालयलाई सुधार केन्द्र बनाउन मन्त्रालयमा छलफल भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बताएका छन् ।

आज त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले उच्च शिक्षा सुधारका लागि त्रिभुवन विश्वविद्यालयले अग्रसरता देखाउनुपर्ने बताए । मन्त्री पौडेलले सरकारले ७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्‍याउने गरी काम गरिरहेको बताए ।

त्यस्तै मन्त्री पौडेलले शिक्षा क्षेत्रबाट नै नेपालबाट वार्षिक खर्बौं रुपैयाँ बाहिर जाने गरेको बताए । रेमिट्यान्सको हिसाब गर्ने तर नेपालबाट बाहिर गएको पैसाको हिसाब नगर्ने भएकाले अर्थतन्त्र रेमिट्यान्सको भर पर्न परेको दाबी गरे । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि अर्बौं रुपैयाँ जाने गरे पनि नियन्त्रण गर्न नसकिएको मन्त्री पौडेलले बताए । उनले नेपालमानै गुणस्तरीय शिक्षा अध्ययन गर्ने वातावरण बनाउनु आवश्यक भएको बताए ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको थियो । उक्त पुस्तकालय बनाउन भारत सरकारले ५० करोड अनुदान दिएको छ । हालको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको सन् १९६७ मा भारत सरकारको सहयोगमा निर्माण भएको थियो । त्रिभुवन विश्वविद्यालयस्थित गान्धी भवनको निर्माण पनि भारत सरकारको सहयोगमा सन् १९७३ मा भएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै राजदूत क्वात्राले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाण भएको बताए । उनले नेपालको सामाजिक एवं आर्थिक विकासका लागि नेपाल सरकारसँग भारतले निरन्तर हातेमालो गर्ने बताए ।

भूकम्प पछिको पुनर्निर्माणका लागि भारतले नेपाल सरकारलाई २५० मिलियन अमेरिकी डलर अनुदान प्रदान गर्ने प्रतिबद्धता गरेको छ । सो रकममध्ये ५० मिलियन अमेरिकी डलर शिक्षाको क्षेत्रमा खर्च भइरहेको छ । हाल नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको निर्माण भइरहेको छ, जसमध्ये १४ वटाको निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने बाँकीको निर्माण कार्य अघि बढिरहेको छ ।

प्रतिक्रिया