कीर्तिपुर स्ववासीका जनतालाई लालपुर्जा वितरण

काठमाडौं । सरकारले कीर्तिपुर ५ वडा पांगाको खाःचो बस्तिमा स्वबासीलाई जग्गा धनी प्रमाण पत्र (लालपूर्जा) वितरण गरेको छ । २०१९ सालको जग्गा नापजाँच ऐनपछि ब्लक नापी भई हालसम्म ब्लकमै रहेका जग्गाको सरकारले पुनः कित्ता नाप गरि आज लालपुर्जा वितरण गरिएको हो ।
नापी भएर अहिलेसम्म ब्लकमा रहेका ३६ वटा कित्ताका ३२ स्थानीय घर परिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा वितरण गरेकी हुन् । लालपूर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भमिहिन नागरिकलाई जमिन उपलब्ध गराउने पहिलो प्राथमिता रहेको बताइन् । उनले भूमिहिन नागरिकलाई जग्गा दिने चार महिनाको अभियानमा १५ हजार भूमिहिन नागरिकलाई लालपूर्जा वितरण गरि सकिएको बताइन् ।
मन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगमार्फत अहिले रहेको भूमिहिन समस्या सदाका लागि अन्त्य गर्ने गरी काम गरिरहेको बताइन् । उनले किर्तिपुर स्वबासीका जनतालाई यो वर्षको कार्यक्रममा नै नभएको बजेट तथा कर्मचारी अभावका बीच तत्काल जग्गा नापी गरेर भूमिहिन जनतालाई जग्गाको लालपूर्जा वितरण गरिएको बताइन् । मन्त्री श्रेष्ठले जग्गा पूर्जा वितरण गर्न खोज्यो भने गर्न सकिने रहेछ भन्ने एउटा उदाहरण भएको पनि बताइन्र ।

प्रतिक्रिया